रोल्पामा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु हुनका साथै अन्य ४ जना बेपत्ता भएका छन्।
बिहीबार राति भएको अविरल वर्षासँगे आएको पहिरोले सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा एक घर पुरेको हाे।
थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोले पुर्दा २८ वर्षीया शीरकुमारी र उनका ४ वर्षीय छोरा असलको मृत्यु भएको हाे। प्रहरीले उद्धारका क्रममा शुक्रबार बिहान दुई आमाछोराको शव निकाले हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी चित्र गुरुङले दुई आमाछोराको मृत्यु भएको पुष्टि गरे।
बिहीबार दिउँसोदेखि निरन्तरुपमा भएको वर्षापछि केही छिमेकी समेत उनको घरमा आश्रय लिएका कारण बेपत्ता हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। बेपत्ताहरुको खोजी कार्य भइरहेको डीएसपी गुरुङले बताए।
बेपत्ताहरुको खोजी कार्य भइरहेको र वर्षा नरोकिएका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा बेपत्ता हुनेहरुमा शीरकुमारीका छिमेकी ३६ वर्षीय जय बुढामगर, उनकी ४० वर्षीया श्रीमती मुलज्योति बुढामगर, १० वर्षीया छोरी गृष्मा र अर्की डेढ वर्षीया छोरी रहेका छन्।

प्रतिक्रिया