आज भाद्र शुक्ल चतुृर्दशी। वर्षा र सहकालका देवता देवराज इन्द्रको धुमधाम पूँजा हुँदैछ, काठमाडौँमा। इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीको दर्शन गर्नुलाई राजधानीमा ‘भाग्य’ नै मानिन्छ। गुणकामदेवले १२४१ सालतिर चलाएको मानिने इन्द्रजात्रा सांस्कृतिक पर्व हो।
राष्ट्रप्रमुखको रुपमा हिजोसम्म यो पर्वमा राजा सहभागी हुन्थे। बसन्तपुर दरवार क्षेत्रमा पुगेर उनले नै कुमारीको दर्शन गर्थे। समय फेरिएको छ। देशमा गणतन्त्र आएको छ। जनताकी छोरी राष्ट्रपति छन्। कानूनले उपस्थिति अनिवार्य नमाने पनि राजाकै ठाँटबाँठमा इन्द्रजात्रामा उनको उपस्थिति हुने गरिएको छ। उपस्थिति के कुरा? ‘सवारी’ले जात्राको दिनको राजधानीको ट्राफिक अस्तव्यस्त हुने गरेको छ।
हो, हिजो राजा जाने इन्द्रजात्रा, मछिन्द्रनाथको रथयात्रा, शिवरात्रीको पशुपतिको यात्रामा राष्ट्रपति जाने चलन चलाइएको छ। राजा नभए पनि उनकै झल्को दिने भद्दा प्रयास पनि भएकै छ।

कानूनतः देशमा राजा छैनन्। राष्ट्राध्यक्षसँग त्यो अधिकार पनि होला। तर, उपल्लो मुस्ताङको लोमान्थाङमा भर्खरै सकिएको एउटा सांस्कृतिक पर्वमा भने राजाको उपस्थिति मात्रै हैन, खटन–पटन नै चल्छ। त्यहाँ पनि राष्ट्रपतिजस्तै चुनिएका जनप्रतिनिधि छन् तर राजाको सांस्कृतिक अधिकारलाई उनीहरुले स्वीकारेका छन्। राजालाई उनीहरुले पनि सम्मान गरेका छन्।
उपल्लो मुस्ताङमा मनाइने यार्तुङले पनि इन्द्रजात्राजस्तै वर्षा सकिएको संकेत दिन्छ। यार भनेको वर्षा र तोङको अर्थ वर्षा राम्रोसँग सकिएको भन्ने बुझिन्छ। तोङ भनेको मेला पनि हो। लोमान्थाङका रैथाने तथा गण्डकी प्रदेशका सांसद ईन्द्रधारा विष्टका अनुसार यो पटकको वर्षा सकिएको र अब आउने हिउँद पनि सुखपूर्वक बितोस् अनि अर्को पटकको यार्तुङ मनाउँदा खेतिपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाइन्छ।
लामा गुरुले हिमाली पात्रो हेरेर यार्तुङको तिथि तय हुन्छ। तिथिका जानकारी त्यहाँका राजालाई दिइन्छ। मुस्ताङमा अहिले राजा त छैनन् तर मुस्ताङी राजाका २६ औँ पुस्ताका युवराज जिग्मेसिग्मे परवल विष्टलाई त्यहाँका जनता राजा नै मान्छन्। राजाले स्वीकृत गरेपछि १ महिनाअघि नै यार्तुङको तिथि स्वीकृत गरिन्छ। ३ हजार ८ सय ४० मिटर उचाईमा रहेको यो सुन्दर बस्तीको बीचमा रहेको कूलदेवता आमा झोला कर्मोको गुम्बामा गाउँकै लामा गुरुबाट विधिपूर्वक पूजा हुन्छ। त्यसपछि शुभकामना साँटासाँट चल्छ।

सबैभन्दा पहिला त्यहाँका राजालाई गाउँको ४ टोलका भद्रभलादमी गएर शुभकामना चढाउँछन्। छ्याङ दिन्छन् र शुभकामना थाप्छन्। लगत्तै बाजागाजासहित राजालाई घोडसवार गराएर लोमान्थाङको गेट बाहिर निकालिन्छ। माटैमाटोको सहरको चार किल्लाभित्र राजाले मात्र घोडा चढ्न पाउने परम्परा अहिले पनि कायमै छ।
घोडचडी तीनदिने पर्वको अर्को विशेषता हो। जसमा राजा आफै पनि सहभागी हुन्छन्। तीनदिने पर्वको दोस्रो दिन रानीसहितका महिला र तेस्रो दिन लामाहरुको घोडचडी र भोजपछि यार्तुङ सकिन्छ। यार्तुङ सकिएसँगै यहाँ चिसो बढ्न थाल्छ। यार्तुङ सकिएको १० दिनपछि यहाँ खेतिपाती थन्क्याउन थालिन्छ। दाउरा र खाद्यान्नको जोहो गरिन्छ। बढी हिउँ पर्दा यहाँका बासिन्दाहरु घरभित्रै बस्छन्। तिब्बती संस्कृतिको जिवन्तता पनि यार्तुङको विशेषता हो।
मुस्ताङी राजाको २६ आँै उत्तराधिकारी युवराज जिग्मेसिग्मे परवल विष्टप्रति अहिले पनि यहाँका मानिसको उत्तिकै श्रद्दा छ । उनको आग्रहलाई आदेशजस्तै मानिन्छ। बरु युवराज स्वयं भने आफूलाई यहाँका जनताको सुखदुःखमा साथ दिने साथी मान्छन्। परिवर्तनलाई स्वीकार्दै लोमान्थाङलाई पर्यटकीय स्थल बनाउने र पर्यटनमार्फत नै यहाँको आर्थिक समृद्धि हुनेमा उनी आशावादी पनि छन्। नेपाल सरकारले दिएको श्रीपेच नलगाई यार्तुङमा सहभागी उनले आफूले हरेक परिवर्तनलाई स्वीकारेको बताए। कानूनत ः आफू राजा नभए पनि जनताले दिएको सांस्कृतिक सम्मानलाई भने आफूले ग्रहण गरेको उनले बताए।

‘खासमा यस्तो कपडा लगाएर बस्न पर्ने पनि थिएन’, उनले यार्तुङको दिन आफूले पहिरिएको राजसी पोशाक देखाउँदै भने, ‘हामीले २१ औँ शताब्दीमा पनि हाम्रो संस्कृतिलाई निरन्तरता दिइरहेका छौँ, हामी यही संस्कृति देखाएर पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ।’ उनले आफू स्वंय पनि पर्यटन व्यवसायमा लागेको र राजाको रुपमा भूमिका निभाउँदा त्यसले पनि पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएकोमा खुसी जनाए। खेती गरेर आम्दानी बढाउन जग्गा नभएको, उद्योग खोल्ने सम्भावना नभएको यो क्षेत्रमा हुने सांस्कृतिक गतिविधि नै पर्यटन उद्योगको लागि सहायक हुने पनि उनले बताए।
युवराज आफूलाई राजा मान्दैनन्। नेपाल सरकारले दिएको श्रीपेच पनि लगाउँदैनन्। त्यसो त उनीसँग तत्कालीन नेपाल सरकार, मंगोलिया र तिब्बत सरकारले दिएको फरक–फरक श्रीपेच छन्। हेर्दा सामान्य लागे पनि ती सबैले उनलाई राजाको हैसियत नै दिन्छन्। देशमा गणतन्त्र आएकै बेला २०७२ सालमा तत्कालीन राजा जिग्मे परवल विष्टको निधन भयो। गणतन्त्र आएसँगै तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम राजाको श्रीपेच फिर्ता माग्न पनि आए। सुन, चाँदी, मुगा अनि एउटा सेतो प्वाँख थपिएको त्यो श्रीपेच उनले मुस्ताङबाट फिर्ता भने लैजान सकेनन्। कारण, देशमा गणतन्त्र आए पनि उपल्लो मुस्ताङबासीले राजालाई उत्तिकै मान्थे। बरु युवराज अहिले त्यो टोपी लगाउँदैनन्। युवराजले यार्तुङमा पनि तिब्बत सरकारलले दिएको टोपी लगाए।

‘अहिले राजकुमार हुुनुहुन्छ, उहाँले आफूलाई राजा नमाने पनि उहाँ हाम्रो राजा हो’, स्थानीय लामा घ्याचो विष्टले भने,‘ उहाँ हाम्रो राजा हो, उहाँलाई राजा नै भन्नुहोस्।’ लोमान्थाङमा पनि राजनीति पसेको छ। त्यहाँ पनि कम्युनिस्ट र कांग्रेसको झण्डा बोक्नेहरु छन्। तर, उनीहरुभन्दा माथि सांस्कृतिक राजा छन्। अर्वपर्व र मुद्दा मामिलाका घटनाहरु राजाकै उपस्थितिमा मिलाइन्छ। ‘म सामान्य जनताको साथी नै हुँ, उहाँहरुको सुख–दुःखमा साथ दिनु मेरो कर्तव्य हो’, उनले भने, ‘म जनताभन्दा माथि छैन र मैले परिवर्तनलाई पनि स्वीकारेको छु, तर मलाई अहिले पनि जनताबाट दिइएको सम्मानमा म खुसी छु।’

प्रतिक्रिया