समाज


घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा आठ जना पक्राउ

घर लुटपाट गर्ने योजना बनाउँदै गर्दा आठ जना पक्राउ

अच्युत रेग्मी
भदौ २२, २०७६ आइतबार १५:२६,

काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलो मात्रामा नगद तथा गरगहना रहेको सूचनाको आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ र राजन तामाङ तथा विदुरका धर्मराज तामाङ र पिटर तामाङ, गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले र धादिङ खनियाबासका विजय तामाङ छन्।

अभियुक्तसँग प्रहरीले दुई थान चिनियाँ पेस्तोल, सोको म्यागेजिन दुई थान, सोको गोली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र मोबाइल नौ थान बरामद गरेको छ। परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै तिनलाई पक्राउ गरिएको जानकारी दिएको हो।

परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले यही भदौ १९ गते नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विश्वकर्मालाई गोँगबुस्थित मुस्ताङ गेष्टहाउसको ४०४ नम्बरको कोठामा लुटपाट गर्ने समूह रहेको बताए। ‘सुन व्यापारी विकले दिएको निवेदनका आधारमा प्रहरीको टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएका हौँ’, उनले भने।

विकको रु दुई लाखभन्दा बढी लुटिएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। सिसी क्यामरा र निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा आठजनालाई पक्राउ गरिएको परिसरले जनाएको छ।

प्रहरीले शुरुमा अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा बाँकी व्यक्तिलाई पक्राउ गर्न सफल भएको सिंहले बताए। पक्राउ परेका पाँचजना हाई रेष्टुरेन्ट एण्ड डान्सबारका सञ्चालक भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अधिकारी भगौडा सैनिक हुन्। उनी यसअघि पनि नक्कली नोट र सुन कारोबारमा पक्राउ परेका थिए। यस्तै भण्डारी सशस्त्र प्रहरी बलका बहालवाला जवान हुन्। परिसरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले उनीहरुले नक्कली सुनलाई सक्कली भनेर किन्न बोलाउने र उनीहरुसँग भएको नगद तथा गरगहना लुट्ने गरेको बताए।

पक्राउ परेकाले बोक्ने पेस्तोल चालू अवस्थामा रहेको छ। ‘विशिष्ट खालको पेस्तोल र गोली बोकेका छन्, पेस्तोल कसरी पाए भन्नेबारे अनुसन्धान जारी छ’ बोगटीले भने। नेपाल प्रहरीले पनि उही खालको पेस्तोल बोक्ने गरेकाले पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .