कला


बीपी कोइरालाको डायरी लोकार्पण

बीपी कोइरालाको डायरी लोकार्पण

नेपालखबर
भदौ २२, २०७६ आइतबार १५:३,

नेपाली का‌ंग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ।

विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ को आज लोकार्पण गरियो। डायरी लोकार्पण गर्दै उनका सुपुत्र एवं कांग्रेस महामन्त्री डा शशांक कोइरालाले डायरीमा तत्कालीन नेपालको संक्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए।

महामन्त्री डा कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गरे। बिपीले सदैव ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘अहिले बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो, उहाँको प्रेरणा र विचारलाई आत्मसात् गर्दै हामीले राजनीतिलाई सफा र निष्कलंक बनाउनुपर्छ।’

बिपीले अंग्रेजीमा लेखेको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट संकलन गरी सम्पादन गरेका हुन् भने महेश पौड्यालले नेपालीमा अनुवाद गरेका हुन्। डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ।

कार्यक्रममा कांग्रेस नेता नरहरि आचार्यले बिपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन संक्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था कांग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे।

कांग्रेस नेता डा शेखर कोइरालाले अहिले मुलुकको राष्ट्रियता कमजोर भएको तथा प्रजातन्त्र, गणतन्त्र र स.घीयतामाथि खतरा देखिएको अवस्थामा कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै इतिहासबाट पाठ सिकेर अघि बढे मात्र मुलुकको भविष्य उज्ज्वल हुने बताए।

कार्यक्रममा ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’का लेखकका पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुलीले आ–आफ्ना पुस्तकका बारेमा परिचर्चा गरे।

यसैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक पौड्याललगायतले बिपीको डायरी राजनीति, इतिहास र साहित्यानुरागीका लागि निकै उपयोगी हुने धारणा व्यक्त गरेका थिए।

यो डायरी संक्षिप्त भए पनि यसले नेपालका अधिकांश भाग र भारतका दिल्ली, बम्बई, कोलकाता, पटना, बनारस, दार्जिलिङलगायत स्थलबाट त्यसबेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रलाई समेटेको छ। साथै विसं २०१२ को अन्त्यतिर बिपीले हालको गण्डकी प्रदेशका अधिकांश जिल्लाको एक महीना लामो भ्रमण गरेका र भ्रमणमा कांग्रेस नेता सुवर्ण शम्शेर र कुनै बेला महामन्त्री रहेका तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको सो डायरीले जनाउँछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .