समाज


रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश

नेपालखबर
भदौ १८, २०७६ बुधबार ६:३४,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ।

उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन मंगलबार आदेश गरेको हो।

प्रतिवादीहरु टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार युवराज कँडेल पुर्पक्षका लागि थुना बाहिर रहन धरौटी माग गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका थिए।

उच्च अदालतमा मंगलबार दर्ता मुद्दाको सोही दिन न्यायाधीश टेकराज नेपालको इजलासमा भएको बहसपछि कैफियत प्रतिवेदन मागको आदेश भएको रजिस्ट्रार विकास श्रेष्ठले नेपालखबरलाई बताए। पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको छ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौ ९ गते लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उनीहरु सो रकम बुझाएर त्यसै दिन थुनामुक्त भएका थिए।

यो बाहेक अदालतले लामिछानेको हकमा विदेश जानुभन्दा अगाडि अदालतको पूर्व स्वीकृति लिनुपर्ने एवं आफू अभियुक्त भएको प्रकरणमा सञ्चार माध्यम प्रयोग गरी विषयवस्तुलाई अतिरञ्जित गर्न नपाइने सर्त राखेको थियो। उच्च अदालतमा दर्ता भएको निवेदनमा यी सर्तहरु बेरितको भएकाले बदर माग गरिएको छ।

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमसँग सम्बन्धित का दुवै सञ्चारकर्मीसँग जिल्ला अदालत चितवनले फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम आत्महत्या दुरुत्साहन कसुरमा धरौटी माग गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .