दर्जनौँ बैंक एटीएम ह्याक गरी रकम लुटिएकाे प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकलाई चिनियाँ दूतावासका उच्च अधिकारीले भेटेका छन्।
काठमाडौं केन्द्रित एटीएम काउन्टरमा भएको लुटमा पक्राउ परेका पाँच चिनियाँ नागरिकलाई चिनियाँ दूतावासका फर्स्ट सेक्रेटरी फाङ सोइलिङले दोभाषे र अनुसन्धान अधिकारी राखेर भेटेका हुन्।
महानगरीय प्रहरी परिसर टेकु पुगेका फर्स्ट सेक्रेटरी फाङले डीएसपी होविन्द्र बोगटीलाई भेटेका थिए। उनले आरोपीहरूको चीनको घर ठेगाना लिनुका साथै परिवारका सदस्यहरूको सम्पर्क नम्बर पनि लिएका थिए।
डीएसपी बोगटीले चिनियाँ दूतावासले अनुसन्धानमा सघाउने प्रतिवद्वता जनाएको बताए। एकै पटक यति ठुलो संख्यामा र यति गम्भीर प्रकरणमा आफ्ना नागरिक पक्राउ परेपछि यथार्थ बुझ्न आएको फाङलाई उदृत गर्दै डीएसपी बोगटीले नेपालखबरलाई जानकारी दिए।
शनिबार मध्यराति चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ पक्राउ परेका थिए। पहिलो अपरेशनमा भाग्न सफल सु लुसली आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
उनीहरुकाे साथबाट एक कराेड २६ लाख रुपैयाँ बरामद हुनुका साथै अनुसन्धानका क्रममा थप तीन जना नेपाली पक्राउ परेका छन्।

प्रतिक्रिया