समाज


कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

नेपालखबर
भदौ १६, २०७६ सोमबार ७:५९,

जिल्लाको बूढीगंगा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ।

आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रंग विकले आरोप लगाए।

आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालिम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै बञ्चित गर्न खोजेको उनले बताए। अध्यक्ष विकले भने, ‘बूढीगंगा नगरपालिका–२ बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर रु १० हजार रकम छुट्याइएकामा त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ।’

वडा नं १० का वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताए। नगर परिषद्मा वडाबाट लक्षित कार्यक्रमका लागि भनेर सधैँ रु तीन-चार लाखको प्रास्ताव गर्दै गएको र नगरबाट पनि प्रास्ताव बमोजिमको रकम बिनियोजन हुँदै आएकामा वडाले भने आफैँले त्यो रकमअनुसारको कागजात मिलाएर खर्च गर्ने गरेको उनको भनाइ थियो।

वडाध्यक्ष धर्मराज जैशीले भने, ‘लक्षित कार्यक्रमअन्तर्गतको रु तीन लाख लक्षित वर्गको रोहवरमा नै खर्च गर्नुपर्छ भनेर वडासचिव डिल्ली जैशीलाई जिम्मा दिइएकामा उनले सोही कार्यक्रममा रकम खर्च भइसकेको भन्ने सुन्नमा आएको छ। यसबारेमा तुरुन्तै वडापालिकाको बैठक राखेर छानबिन गरिने बताए। जिल्लाका बूढीनन्दा, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगरपालिका र हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका ६८ वडापालिकाले भने लक्षित वर्गका लागि आउने कार्यक्रमअन्तर्गतको रकम सोही वर्गलाई जिम्मा लगाएर विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad