प्रहरीले नेपाली बैंकको एटीएम ह्याक काण्डमा पक्राउ गरेका छैठौं ब्यक्तिबाट फ्रान्सको राहदानी बरामद गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भाग्न खोज्दा आइतबार राती पक्राउ परेका चिनियाँ मूलका ३६ वर्षे युवा सु लुस ली फ्रान्सका नागरिक भएको खुलेको हो।
मलेसिया भाग्ने तयारीमा रहेका उनको मलेसियन एयर लाइन्सको बोर्डिङ पास समेत परिसरको टोलीले बरामद गरेको छ।
उनको फ्रेन्च राहदानी नम्बर १८ एके ९०२८० रहेको छ।
प्रहरी अनुसन्धानबाट शनिबार बैंकको एटीएम ह्याक गरी करिब दुई करोड लुटने चिनियाँ टोलीले यूरोपबाट काम गरिरहेको खुल्दै गएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले लुसलीलाई अध्यागमनको सहयोगमा आइतबार राती विमानस्थलबाट पक्राउ गरेको थियो। बैंक ह्याक गरी पैसा लुट्ने आठ जनाको समूहका थप यी एक पक्राउ परेपनि अन्य दुई जना अझै फरार छन्।
प्रहरी अनुसन्धान अधिकारीहरूले आठ जनाको टोलीमा भाग्न सफल दुई जना र विमानस्थलबाट पक्राउ परेका लुसी प्राविधिक विज्ञ हुनसक्ने बताएका छन्।
यूरोपेली देशकै पासपोर्ट बोक्नुले पनि उनीहरूले ह्याकको मुख्य केन्द्र युरोपलाई बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
‘युरोपेली देशको पासपोर्ट हुनु र समूहका चार जनाले अन्य चार जनालाई नचिन्नुले नयाँ तथ्य देखायो’, अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी अधिकारीले भने, ‘बैंक ह्याकिङमा युरोपका प्राविधिक समूह र चीनका भरिया प्रयोग भएको हुनसक्छ।’
प्रतिक्रिया