ad ad

समाज


मिटरब्याजमार्फत सयौंलाई ठगेको आरोप लागेका श्याम परदेशी पक्राउ

मिटरब्याजमार्फत सयौंलाई ठगेको आरोप लागेका श्याम परदेशी पक्राउ

नेपालखबर
भदौ १५, २०७६ आइतबार १६:१४,

सोझा सिधा स्थानीयलाई जाली तमसुक बनाएर ठगी गरेको आरोप लागेका सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) लाई प्रहरीले पक्राउ गरेको छ। मलंगवा नगरपालिका–४ का परदेशीलाई आइतबार सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।

सोही ठाउँकी रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश २ का प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

साहमाथि सयौं सोझा सिधालाई कपाली तमसुक बनाएर ठगी गरेको आरोप लागेको छ। 

‘१५ लाखको कपाली तमसुक बनाएर ठगी गरेको भन्ने रुक्मीणी चौधरीको उजुरीका आधारमा प्रहरीले श्याम परदेशीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले ठगी मुद्दामा उनीमाथि अनुसन्धान सुरु गरेको छ।’ डीएसपी महतोले भने, ‘अनुसन्धान गर्दै जाँदा थप केही खुल्यो भने अनुसन्धानको दायरा पनि फराकिलो हुन्छ।’

साहले सयौं मानिसलाई ठगेको भन्दै स्थानीयले सर्लाहीदेखि काठमाडौंसम्म आएर संघर्ष गरेका छन्। पीडितहरुले ‘श्याम परदेशी पीडित संघर्ष समिति’ नै बनाएर केही दिन अघि राजधानीमा आएर आन्दोलन नै गरेका थिए।

कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराउने, ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गराउनेलगायत धेरै अन्याय र शोषण गरेको उनीहरुको आरोप छ।

 sarlahi pidit

मंगलबार समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सोझासाझा गरिबहरुले कयौंले कति रकमको कागज गरियो थाहा पाउनुपर्ने कानुनी प्रावधानको विपरित तमसुक गराउने, थाहा पाउनुपर्ने यो व्यवहारिक चलनलाई उल्लंघन गर्ने, लिएको ऋण तिरपेपछि सबै कागज च्यातिदिई हाल्छु भन्ने तर कागज नच्याती साहु श्याम परदेशीले झुक्याएर गरेका सबै कागजको एकमुष्ट साँवा ब्याज दाबी गरेपछि ऋणीहरु आपतमा पर्ने र त्यस्तो बखत घरका जवान महिलाहरुलाई साँझ पठाईदिए ब्याज मिनाह गर्नेलगायतका प्रस्ताव राख्ने, कतिपय ऋणीलाई ऋण–ब्याज बुझाउन घरमा जाँदा हातपातको प्रयाससमेत गर्ने गरेको, उसले भनेको कुरा नमान्दा अदालतमा लेनदेनको मुद्दा हालि केहीलाई अहिले थुनामा राखेको छ। केही मान्छेहरु भागेका छन्। कैयौंमाथि अदालतमा मुद्दा चलिरहेको छ। कतिपय मान्छेहरुको निजले हडपेको छ।’

समितिका अनुसार हालसम्म उनीहरुसँग जोडिएका १५० जना व्यक्तिले लिएको वास्तविक ऋण एक करोड ९ लाख ५१ हजार साँवा हो। ऋणीले पटक पटक गरी १ करोड ४७ लाख ४ हजार तिरिसकेका छन्। तर, कलवारले अझैपनि ७ करोड तिर्नुपर्ने भन्दै दाबी गरेका पीडितको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .