समाज


थारु समूदायमा ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

थारु समूदायमा ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै

नेपालखबर
भदौ १५, २०७६ आइतबार १०:५७,

पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागतरुपमा मनाइने गरिन्छ।

चौधरी डगौरा समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज यो पर्व प्रारम्भ भई सोमबारसम्म मनाइन्छ। हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्व पछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन्।

वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सतको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन्।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ। यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन्। पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रुपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी बहिनीको घरसम्म पु¥याइदिने प्रचलन रहेको छ।

पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ। अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ। महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन्।

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad