सञ्चारिका समूह नेपालद्वारा स्थापित ‘सञ्चारिका समानता पुरस्कार २०७५’ पत्रकार रामु सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशि १५ हजार (पन्ध्र हजार) रुपैयाँ रहेको छ।
सञ्चारिका समूहद्वारा जारी विज्ञप्तिमा हिमाल खबर पत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहीन ‘अक्सिटोसिन’ पनि’ फिचरका लागि सापकोटालाई उक्त पुरस्कार दिने निर्णय गरिएको उल्लेख छ।
पुरस्कारका लागि समूहले गत २०७५ वैशाख १ गतेदेखि २०७५ चैत ३० गतेसम्म विभिन्न पत्रपत्रिकामा छापिएका लैङ्गिक समानतामा आधारित समाचाररलेखरफिचरबाट छनौट गरेको थियो। छनौट गरिएका फिचर तीन सदस्यीय निर्णायक मण्डललाई उपलब्ध गराईएको थियो। पुरस्कार छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, वरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनको पुर्व नायब महानिर्देशक दिपा गौतम र सञ्चारिका समूहको महासचिव बिमला तुम्खेवा थिए। छनौट समितिले समाचार, लेख, फिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयवस्तुलाई आधार बनाएर मूल्याङ्कन गरेको हो ।
‘समानताका लागि सञ्चार’ भन्ने आफ्नो मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।
यस्तै, ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०७५’ विरगञ्ज जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार माधुरी महतोलाई दिने निर्णय गरिएको छ। पत्रकार महतो विरगञ्जबाट बिबिसी नेपाली सेवामा कार्यरत छन्। यो पुरस्कार स्व पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको हो। पुरस्कारको राशि सात हजार एक सय ११ रुपैयाँ रहेको छ।
यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७५’ हिमालयन टाइम्समा कार्यरत पार्वती थापामगर र नागरिक दैनिकमा कार्यरत पत्रकार सुष्मा बराइलीलाई दिने निर्णय गरिएको छ।

प्रतिक्रिया