समाज


पूर्व राजदूत झा हत्या प्रकरणः ‘टोबी’ बन्यो अनुसन्धानको मियो

पूर्व राजदूत झा हत्या प्रकरणः ‘टोबी’ बन्यो अनुसन्धानको मियो

दीपक खरेल
भदौ १२, २०७६ बिहिबार १३:४५,

पूर्व राजदूत केशवराज झा हत्याको एक वर्षपछि उनकै घरपालुवा कुकुर ‘टोबी’ प्रहरी अनुसन्धानको मियो बनेको छ। पूर्व राजदूत झाले पालेको ककर स्पाइनल  जातको ‘टोबी’बाटै प्रहरीले अनुसन्धान सुरु गरेको हो। अनुसन्धान अधिकारीहरुले ‘टोबी’ ले घटनापछि देखाएको व्यवहार र उसका विशेषतामा टेकेर खोजी सुरु गरेका हुन्।

घटनापछि टोबीलाई आफन्तको घरमा लगेर राखिएको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले विशेष अनुसन्धान टोली बनाएसँगै टोबीका विषयमा सोधखोज गरिएको थियो।

प्रहरीले आफन्तको घरमा राखिएको टोबीलाई घटनास्थलमा लैजानुका साथै कुकुर विज्ञबाट ककर स्पाइनलका प्रजातीका कुकुरको विशेषता र व्यवहारका विषयमा जानकारी लिएका हुन्।  महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले मृतक झाकी श्रीमती ज्ञानु झाको किटानी जाहेरीपछि विशेष अनुसन्धान टोली बनाएर घटनाका सबुत प्रमाण जुटाइ रहेकाे हो।

काठमाडौं बबरमहलस्थित आफ्नै घरमा हत्या गरिएका फ्रान्सका लागि पूर्व राजदूत झाले टोबीलाई सानैमा ल्याएर पालेका थिए। उनैले उसको नाम टोबी राखेका थिए।

पूर्वराजदूत झा, पत्नी ज्ञानु झा र कामदार सानुकान्छा तामाङ मात्रै बबरमहलस्थित फराकिलाे घरमा बस्थे। पूर्वराजदूत झाको प्रिय टोबी उनलाई पच्छयाउथ्यो। झापछि टोबीले कामदार सानु कान्छालाई पच्छयाउथ्यो। टोबीको रेखदेख र स्याहार उनै सानुकान्छाले गर्थे। घटनापछि टोबी सानुकान्छाको नजिक नजानुलाई प्रहरीले हत्या अनुसन्धानको प्रमुख बिन्दू मानेको छ।

प्रहरीले प्रहरी कुकुर विद्यालयका विज्ञलाई टोबीको व्यवहारमा आएको परिवर्तनले देखाउने संकेतका बिषयमा सोधपुछ गरेका हुन्। विज्ञहरुले ‘टोबी’ घटनाको प्रत्यक्ष साक्षी भएको हुनसक्ने उल्लेख गरेका छन्।

प्रहरी अनुसन्धानमा घटनास्थलमा खटिएको तालिमप्राप्त कुकुर म्याक्सलले गरेको संकेतलाई समेत अहिलेको अनुसन्धान टोलीले केलाइरहेको हो।

प्रहरीले घटनास्थलमा प्रयोग गरेको तालिमप्राप्त प्रहरी कुकुर म्याक्सलले घटनाका आरोपी घटनास्थलभित्र (झाको घरभित्र) रहेको संकेत गरेको थियो।

प्रहरी कुकुरलाई घटनास्थलमा लगेपछि उ घर वरपरमात्र घुमेको थियो। बबरमहलस्थित झाको घरबाहिर निस्किएन। अनुसन्धान अधिकारीहरुका अनुसार जर्मन सेफर्ड प्रजातीको म्याक्सलले झाको शब र हत्यामा प्रयोग भएको चक्कु सुँघेको थियो।

अनुसन्धानमा कुकुर प्रयोगसम्बन्धी ज्ञान भएका एकजना प्रहरी अधिकारी म्याक्सलको संकेतले हत्यारा घरभित्रकै हुनसक्ने तर्फ इंगित गरेको सो विषय किटानी जाहेरीको अभावमा कार्यन्वयनमा जान सकेन।

अनुसन्धान अधिकारीहरुका अनुसार फिल्डमा खटिएको कुकुर झाको शव सुँघेपछि त्यसलाई पच्छयाउदै सानुकान्छा बस्ने कोठासम्म पुगेको थियो। अनुसन्धानमा खटिएका अधिकारीहरुले त्यसबेला सानुकान्छा कोठामा चिउरा र दालमोठ खाँदै गरेको अवस्थामा भेटेका थिए।

घरमूलीको जघन्य हत्या हुँदा समेत सातवर्षदेखि सोही घरमा बस्दै आएका सानुकान्छाको यो व्यवहारले प्रहरी अनुसन्धान उनीमाथि केन्द्रित थियो।

५० हजार सापटी हत्याको कारण हुनसक्छ
प्रहरी अनुसन्धानमा सानुकान्छा र पूर्वराजदूत झा बीच ५० हजार रुपैयाँको विवाद हत्याको प्रमुख कारण हुनसक्ने देखिएको छ। सात वर्षदेखि सोही घरमा काम गरिरहेका सानुकान्छाले आफ्नो एक वर्षको तलब एकमुष्ट लिएर छाड्ने मनस्थितीमा थिए। याे बिषयमा सानुकान्छाले बाहिरका एकजनासँग कुरा गरेका थिए। प्रहरीले उनले कुरा गरेका ब्यक्तिसँग प्रहरीले बयान लिएकाे छ। 

झाले उनलाई फकाउँदै र थर्काउँदै राखेका थिए।

ambasdoor jha
हत्या गरिएका पूर्वराजदूत झा। फाइल तस्विर

‘मृतक झासँग सानुकान्छाले ५० हजार एडभान्स लिएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ‘बाँकी तलब एकमुष्ट एक लाख ६० हजार हुने रहेछ, झाले त्यो दिन मानिरहेका थिएनन्।’ ती अधिकारीका अनुसार सानुकान्छाले ५० हजार घटाएर आफूलाई एकलाख १० हजार रुपैयाँ दिन आग्रह गरेका थिए। प्रहरीले झाले हिसाब राख्ने डायरी बाट याे बिषय खुलाएकाे हाे। 

‘मृतक झा निकट एक जना पुराना पत्रकारसँग सानुकान्छाले घरमै आएका बेला आफ्नो श्रम शोषण भएको समाचार लेख्न आग्रह गरेका रहेछन्,’ ती अधिकारीले भने ‘रकमकै विषय हत्याको कारण हुनसक्ने आधार पनि फेला परेको हो।’

प्रहरीले ती पत्रकार र अन्य एकजना व्यक्तिको बयान समेत प्रमाणका रुपमा पेश गर्ने तयारी गरेको छ।

दोस्रो पटक सानुकान्छाको पोलिग्राफ टेस्ट
महानगरीय प्रहरी परिसर काठमाडाैं र अपराध महाशाखाको संयुक्त टोलीले काभ्रेबाट साउन ३१ मा नियन्त्रणमा लिएका कामदार सानुकान्छाको दोस्रो पटक पोलिग्राफ टेस्ट भएको छ।

प्रहरीले दोस्रो पटक गरेको पोलीग्राफ टेस्टमा सानुकान्छाले प्रहरीले सबुत प्रमाणका आधारमा सोधेका प्रश्नमा उनले केही बिषयमा स्पष्ट जवाफ दिन सकेका छैनन्।

अघिल्लो पटक उनीसहित नियन्त्रणमा लिएका मालीहरु जयबहादुर गुरुङ र अमर तामाङको पोलिग्राफ टेस्ट भएको थियो। त्यतीबेला सानुकान्छाको जवाफले उनीमाथिको सन्देहमा बल पुगेको थियो।

फरेन्सिक जाँच अर्को आधार
प्रहरीले घटनास्थलमा फेला पारेको चक्कु, पञ्जा र फोनको विधि विज्ञान प्रयोगशालामा गरेको जाँचमा समेत हत्यामा संलग्न ब्यक्तिका विषयमा खुलेको छ। प्रहरीले गोप्य राखेको प्रतिवेदनले समेत हत्यारा घरभित्रकै भएको संकेत गरेको हो।

ambasdoor jha dad dogपूर्वराजदूत झा हत्या अनुसन्धानमा परिचालन भएको जर्मन सेफर्ड म्याक्सल। तस्विर: प्रविन कोइराला

पूर्व राजदूत झाको बबरमहलस्थित घरमा २०७५ भदौं ३ गते राती हत्या भएको थियो। प्रहरीले भदौ ४ गते उनको शब रक्ताम्य अवस्थामा घरकै भुइतलाको उनी सुत्ने कोठामा फेला पारेको थियो। उनलाई १३ इन्च लामो छुरीले टाउकोमा ४ पटक र घाटी छेउमा २ पटक प्रहार गरिएको थियो। हत्याराले घटनामा प्रयोग भएको छुरी उनकै शरिरमा छाडेको अवस्थामा फेला परेको थियो।चक्कु झाकै घरमा प्रयाेग हुनेमध्ये एउटा थियाे। 

प्रहरीले झाको घर–कम्पाउण्डबाट फेला पारेका सबुतप्रमाण थप जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।

प्रहरीले घरको छेउमा रहेको केराको झ्याङ नजिक कालो रंगको एकजोर पञ्जा फेला पारेको थियो । यस्तै सानुकान्छा सुत्ने गार्ड रुमबाट नोकियाको २३३० सी–टु मोडलको सिम नभएको मोबाईल र टाँकको छेउमा रगत लागेको एउटा कमिज बरामद भएको थियोे। प्रहरीले फेला पारेको पञ्जा समेत उनीसुत्ने गार्डघर नजिकको केराको झ्याङमा फेला परेको हो।

दोहोराएर सोधपुछ र सबुतको ब्याख्या
प्रहरीले घटनास्थलमा खटिएका प्रहरी अधिकारी, तालिमप्राप्त कुकुर घटनास्थल लिएर जाने अधिकारी, छिमेकी र झा निकट ब्यक्तिहरुसँग दोहोराएर बयान लिएको छ।

परिसरका डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा अपराध महाशाखाका डिएसपी दुर्गा दाहाल र रविन्द्र कार्की तथा वरिष्ठ सई गजेन्द्र रावल नेतृत्वको विशेष अनुसन्धान टोलीले सबैको बयान लिएको हो।
घटनाको एक वर्षपछि एकपटक पक्राउ गरेर धरौटीमा छुटेका सानुकान्छालाई दोहोराएर पक्राउ गर्न प्रहरीले सुरुमा प्रमाणहरु केलाएको थियो।

‘अनुसन्धान टोलीले केही आधारहरु फेला पारेपछि थप कदम चालेको हो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपालखबरसँग भने ‘प्रहरीमा किटानी जाहेरी परेपछि त्यसका आधारमा थप अनुसन्धान गर्न सजिलो भएको हो।’ उनका अनुसार यसपटक आरोपीको बयान भन्दा संकलित सबुत प्रमाण र बयान लिएका ब्यक्तिहरुले भनेका बिषयले अनुसन्धान साँघुरिदै गएको हो।

ambasdoor jha dad bodyहत्या गरिएका पूर्वराजदूत झाको शव निकाल्दै प्रहरी। तस्विर: दीपक खरेल

एकवर्षपछि परिवारबाटै किटानी
मृत्तक झाको हत्या सानुकान्छाबाटै भएको भन्दै श्रीमती ज्ञानुले प्रहरीमा किटानी जाहेरी दिएकी हुन्। घटनाको एकवर्षपछि  ज्ञानु छोरा किरणराज र छोरी राजश्री सहित प्रहरी कार्यालयमा पुगेर पतिको हत्याबिरुद्ध किटानी जाहेरी दिएकी हुन्।

‘हत्याका सम्भावित दर्जनौ कारणलाई प्रमाणले पुष्टि गर्छ कि गर्दैन भनेर हेरिरहेका छौं,’ एसएसपी सुवेदीले भने, ‘हाम्रो अनुसन्धान सकारात्मक दिशामा अघि बढिरहेको छ।’

यसअघि झाकी छोरी राजश्रीले २०७५ भदौ ६ मा आफ्ना पिताको हत्या भएको भन्दै आवश्यक अनुसन्धान गरि हत्यारा पत्ता लगाउन जाहेरी दिएकी थिइन्। राजश्रीले दिएको जाहेरी अनुसार भदौं ४ को बिहान आमाले घरको चोटा झ्यालको जाली काटिएको अवस्थामा देखेको उल्लेख छ। त्यसपछि साढे सातबजे मृतक झालाई चिया खान उठाउन जाँदा मृत फेला परेको उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .