ad ad

समाज


अझै छ गाउँघरमा यस्तो शोषणः न्याय खोज्दै पीडित आए काठमाडौँ

अझै छ गाउँघरमा यस्तो शोषणः न्याय खोज्दै पीडित आए काठमाडौँ

नेपालखबर
भदौ ११, २०७६ बुधबार ४:३१,

सर्लाहीका कुख्यात सुदखोर श्यामकृष्ण साह (श्याम परदेशी) बाट पीडित निमुखा नागरिक न्याय खोज्दै काठमाडौँ आएका छन्।

स्थानीय स्तरमा न्याय नपाएपछि काठमाडौँ आएका करिब ५० जना पीडित दुई दिनदेखि गौशालामा बसिरहेका छन्। समूहमा आएका अधिकांश मधेशी महिला छन्।

सुदखोर साह सदरमुकामसमेत रहेको मलंगवा–४ का स्थायी बासिन्दा हुन्। उनको शोषणको शैली सुन्दा जो कोहीले हत्तपत्त पत्याउँदैनन्। पीडितका कुरा सुन्नेले ‘अहिलेको जमानामा यस्तो हुन सक्छ र?’ भन्ने जस्ता प्रश्न गर्छन्। तर, यो यथार्थ हो।

सोमबार साँझ नाइट बस चडेर मंगलबार बिहान काठमाडौँ ओर्लिएका पीडितले दिउँसो भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरे। पीडित महिलाले रुँदै आफ्नो पीडा पोखे।

69370105 2413129398769672 4266777325397344256 n

साहबाट पीडितले ‘श्याम परदेशी पीडित संघर्ष समिति’ गठन गरेका छन्। समितिमा एक सय ५० पीडित परिवार आवद्ध छन्। अझै झण्डै एक सय पीडित समूहमा आबद्ध हुन बाँकी छ।

यसरी ठग्छन् साह
सोझासिधा, गरिब निमुखालाई साह ऋण लगानी गर्छन्, सयकडा पाँच ब्याजदरमा। तर, कागज भने उनी मनलाग्दी ढंगले बनाउँछन्। गरिबीको चपेटमा परेका अनपढ नागरिक उनले बनाएको कागज पढ्न जान्दैनन्, पढ्न दिइँदैन।

ऋण लिँदा ‘एकप्रति मलाई पनि दिनुस्’ भनेर माग्दैनन्। मागे पनि साह दिँदैनन्। उनीसँग धेरै सवालजबाफ गर्नेने ऋण पाउँदैन। साहले बनाएको काजगमा खुरुखुरु सही छाप गरेर ऋण लिन्छन्, अनपढ गरिबहरु।

अधिकांशले भारतले तीन वर्षअघि नाकाबन्दी गरेको बेला ऋण लिएको पाइएको छ। मधेश आन्दोलन चलिरहेको बेला सबैजसो, बैँक, सहकारी लगायतका वित्तिय संस्था बन्द थिए।

त्यही मौका छोपेर साहले अधिकांशलाई ऋण लगानी गरेको पाइएको पीडितको पक्षमा पैरबी गर्दै आएका नेकपा सर्लाहीका नेता कमल बुढाथोकी बताउँछन्।

साहबाट लिएको ऋणले धेरै गरिबको उठिबास भइसकेको छ। चारजना जेलमा छन्। कोही पक्राउको डरले बेपत्ता छन्। एक लाख ऋण लिनेसँग साहले १० लाख रुपैयाँसम्मको कागज बनाएको पाइएको छ। कागजी रुपमा उनले आफूलाई माथि पारेका छन्।

कागज हेर्दै जिल्ला अदालतले भटाभट उनकै पक्षमा फैसला गर्दै गएको छ। कयौँ पीडितमाथि अदालतमा मुद्दा चलिरहेको छ। धेरै घरबारबिहीन भइसकेका छन्।

‘ऋण लिएको रकमभन्दा दश गुणा बढीसम्मको कागज गराउँछन्, बेला बेलामा तिरेको साँवाव्याजको निस्सासमेत दिँदैनन्,’ पीडितमध्येकी रुक्मिणी चौधरीले भनिन्, ‘हामीले स्थानीय प्रहरी, प्रशासन र अदालतबाट न्याय पाएनौँ, त्यसैले काठमाडौँ आएका छौँ।’

बास्तविक ऋण एक करोड ९ लाख मात्र
पीडितका अनुसार संघर्ष समितिमा आबद्ध करिब एक सय ५० जनाले साहसँग लिएको बास्तविक ऋण एक करोड ९ लाख ९१ हजार हो। ऋण लिएकाले विभिन्न समयमा गरेर एक करोड ७४ लाख चार हजार तिरी सकेका छन्।

तर, साहको दाबी भने ऋणीले अझै सात करोड तिर्नुपर्ने छ। तर, पीडित साहको दाबीलाई झुट भन्छन्।

‘यस विषयमा पीडितले जिल्लामा सिडिओ, एसपी, प्रमुख दलका नेताहरुसँग धेरै पटक छलफल गरिसकेका छन्। तर, निकास निस्किएको छैन,’ नेकपा सर्लाहीका इन्चार्ज डाचाराज वाग्लेले भने, ‘घटनाक्रम हेर्दा साहले गरिब निमुखालाई चरम शोषण गरेको छर्लंङ्गै छ। यसमा प्रहरी, अख्तियारसहितका निकायले छानविन गरेर पीडितलाई न्याय दिनुपर्छ।’

69453499 2415250052075961 3411030393321684992 n 1

प्रहरी प्रशासनसहितको उपस्थितिमा पटक–पटक भएका छलफलमा पीडितले आफूले लिएको भन्दा दोब्बर बढी रकम साहलाई बुझाउन सहमत भए। त्यति रकम तिरेपछि भएका जति सबै काजग च्यात्नुपर्ने सर्त राखियो, तर साह यसमा सहमत भएनन्।

करिब दुई वर्षदेखि यस विषयमा गाउँसमाज र प्रहरीप्रशासनमा छलफल हुँदै आएपनि कुनै निकास निस्किएको छैन।

गरिब निमुखा विरुद्ध साहद्वारा यो हदसम्मको शोषण हुँदा पनि स्थानीय प्रहरी प्रशासन मौन छ। उनीमाथि आवश्यक छानविन र कारबाहीको लागि प्रहरीले चासो दिएको छैन। कागजी रुपमा साह बलियो भएकाले केही गर्न नसकिने स्थानीय प्रशासनको बुझाइ छ।

तर, नेकपाका केन्द्रीय सदस्यसमेत रहेका वाग्लेको तर्क फरक छ। उनी भन्छन्, ‘साह सुदखोर हो भन्ने सबैलाई थाहा, प्रहरी प्रशासन पनि यस विषयमा जानकार नै छन्। प्रहरीले उनीमाथि ठगी अभियोगमा छानविन गरेर कारबाही गर्नुपर्छ।’

चार–पाँच वर्ष अघिसम्म साहको आर्थिक हैसियत सामान्य थियो। अहिले उनी करोडौँका मालिक भएका छन्। गरिबलाई शोषण गरेको सम्पत्ति उनले आफू, श्रीमती, छोराछोरी, ज्वाइँ आदिको नाममा राखेका छिमेकीको भनाई छ।

सुदखोर साहले थोपरेको अनुचित ऋणबाट छुटकार पाउन पीडित अहिले संघर्षको मैदानमा छन्। उनीहरुले गृहमन्त्री, कानुनमन्त्री, महान्याधिवक्ता, सभामुख लगायतलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्।

पीडितले बुधबार दिउँसो चार बजेदेखि माइतीघर मण्डलामा अनिश्चिितकालिन धर्नासमेत सुरु गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .