ad ad

राजनीति


अध्यक्ष-प्रधानमन्त्री दिन ओली तयार, नेकपामा प्रचण्ड निर्णायक

अध्यक्ष-प्रधानमन्त्री दिन ओली तयार, नेकपामा प्रचण्ड निर्णायक

नेपालखबर
भदौ ११, २०७६ बुधबार ४:४१,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समयमा देखा परेको समीकरण फेरबदलबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक रुपमा शक्तिशाली बनेका छन्। पूर्वएमालेका दुई प्रमुख नेता केपी शर्मा ओली र माधवकुमार नेपालबीच समूहगतका साथै व्यक्तिगत सम्बन्धमै तिक्तता बढेपछि अध्यक्ष दाहाललाई त्यसको लाभ भएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूविरुद्धको सम्भावित गठबन्धनको आँकलन गरेर अध्यक्ष दाहाललाई विश्वासमा लिने गरी समझदारी गरेपछि बरिष्ठ नेता नेपाल पार्टीमा एक्लिएका छन्। ओली पनि दाहालको साथ बिना अगाडि बढ्न नसक्ने अवस्थामा पुगेका छन्।

नेकपा सचिवालयका एक सदस्यका अनुसार सिंगापुरबाट फर्केपछि ओलीले पार्टीको विधान संशोधन गरी दाहाललाई अध्यक्षको कार्यकारी अधिकार सुम्पिने तयारी गरेका छन्।

सिंगापुर जानुअघि नै ओलीले दाहाललाई सचिवालय बैठक आयोजना गरेर पार्टीका निर्णयहरू गर्नसक्ने गरी कार्यकारी अधिकारको जिम्मेवारी दिएर त्यसको संकेत गरिसकेका छन्।

Puspa4

दाहाललाई अध्यक्षको कार्यकारी अधिकार दिएर ओलीले पाँच वर्ष नै प्रधानमन्त्री हुन खोजेका हुन् त?

नेपालखबरको यो प्रश्नमा नेकपा सचिवालयका ती सदस्य भन्छन्, ‘त्यस्तो पनि होइन, पार्टी एकताअघि ०७५ जेठ २ गते प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमति अनुसार नै अबको एक वर्षपछि दाहाललाई सरकार हस्तान्तरण गर्ने तयारी ओलीले गर्नु भएको छ।’

यो नयाँ समझदारी गर्दा राज्यका विभिन्न पदमा रहेकासहित ओली समूहका कम्तीमा पाँच जना प्रमुख नेताहरु संलग्न रहेकाले सहमति कार्यान्वयन हुने कुराले दाहाल हौसिएका छन्। यति हुँदाहुँदै पनि दाहालले बरिष्ठ नेता नेपालसँगको सम्बन्ध कायम राखेर विकल्प नै खोज्नुपरे पनि आफू कमजोर नहुने गरी कदम चालेका छन्।

स्रोतका अनुसार बरिष्ठ नेता नेपालको बरियता खोस्ने गरी बालुवाटारमा बैठक आयोजना हुने दिन विहान र निर्णय भइसकेपछि पनि अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए। यतिसम्म कि बालुवटारमा बरिष्ठ नेता नेपाललाई पार्टी बरियतामा झलनाथ खनालपछि राख्ने गरी निर्णय हुनासाथ अध्यक्ष दाहालले अलग्गै भेटेर फकाउने प्रयास गरेका थिए।

Puspa3

‘तपाईंलाई मैले चिन्न सकेको रहेनछु, आजको बैठकमा जुन हृदयको विशालता देखाएर आफैँ गाँठो फुकाइदिनुभयो, यसबाट म साह्रै प्रभावित भएको छु’, नेपालसँग दाहालको भनाई उद्धृत गर्दै नेकपाका एक जना नेता भन्छन्, ‘यति सहज रुपमा लिनुहोला भन्ने मैले कल्पना पनि गरेको थिइनँ।’

ओली सिंगापुर उडेपछि गत शुक्रबार विहान दाहाल निवास खुमलटारमा दाहाल र नेपालबीच साढे दुई घण्टा छलफल भएको थियो। जहाँ दाहालले नेपाललाई ‘एकता प्रक्रिया टुंग्याउनका लागि मात्रै अहिलेको अवस्थामा पुगेको’ भन्दै चित्त बुझाउने कोसिस गरेका थिए।

व्यक्तिगत रुपमा राम्रै सम्बन्ध रहेका दाहाल र नेपाल बरियतासम्बन्धी निर्णय भएको भोलिपल्टै दिवंगत माओवादी नेता रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुन सँगै जनकपुर गएका थिए र सीताशरण होटलमा सँगै बसेका थिए। दुबै नेतालाई साथमा लिएर जाने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले आफ्ना सहकर्मीहरुसँग ‘दुबै नेताबीच हार्दिकता रहेको र नयाँ चरणमा कुराकानी भएको आफूले बुझेको’ बताएका छन्।

पूर्वएमाले समूहका ओली र नेपाल दुबैका लागि अहिले दाहाल अपरिहार्य भएका छन्। पार्टीमा नेपाललाई पछि पार्ने योजनामा रहेका ओली त्यसमा दाहालको साथ नपाए अघि बढ्न नसक्ने अवस्थामा छन् भने ओलीसँग ‘बदला लिन’ नेपालका लागि पनि दाहालको साथबाहेक अर्को विकल्प छैन।

पूर्वमाओवादी समूहका एक नेताका अनुसार जिल्ला इन्चार्ज–सहइन्चार्ज चयन गर्ने विषयमा लामो समयसम्म सहमति हुन नसकेपछि ओलीले दाहालसँग प्रस्ताव गरेका थिए, ‘तपाईं र मैले सही गरेर सूची टाँसिदिउँ, माधव नेपालले केही गर्न सक्दैनन्।’

नेकपाका उच्च स्रोतहरूका अनुसार पहिला माधव नेपाल अनुपस्थित रहेको बेला प्रदेशका पदाधिकारी चयनको निर्णय गर्दा पार्टीमा आएको समस्या बुझेका दाहालले त्यो प्रस्ताव नमानेपछि ओली एउटा निष्कर्षमा पुगे– दाहाल–नेपालबीच गहिरो समझदारी भएको छ र त्यो कुनै पनि बेला आफुविरुद्ध प्रयोग हुनसक्छ।

Puspa2

ओलीसँगै समझदारी भएर पार्टी एकता भएको र अहिले अध्यक्ष रहेको कारण पनि दाहाल ओलीसँग सकेसम्म राम्रो सम्बन्ध बनाउन बाध्य छन्। तर विगतमा ओलीले धोका दिएको कारण अर्को बर्ष प्रधानमन्त्री पदको हस्तान्तरण सहज बनाउनका लागि नेपाललाई पनि साथमा राखिरहनुपर्ने बाध्यता छ। त्यसैले पार्टीमा निर्णायक रुपमा शक्तिशाली बनेका दाहालले दुबै पक्षसँग समदुरी राख्ने प्रयास गरिरहेका छन्।

खुमलटार निकट स्रोतहरूका अनुसार अध्यक्ष दाहालले अहिले पूर्वएमाले समूहका नेता–कार्यकर्ताको विश्वास जित्न भेटघाट तीब्र बनाएका छन्। शीर्ष नेताबाहेक दुबै समूहका मध्यम तहका नेताहरुलाई एक्लाएक्लै र सामूहिक रुपमा निवासमा बोलाएर दाहालले परामर्श गरिरहेका छन्।

पार्टीमा दाहाल हावी हुँदै गएको चर्चा पूर्वएमाले पंक्तिमा बढेको छ।

‘यही गतिमा आन्तरिक समीकरण र राजनीति अघि बढ्ने हो भने नेकपामा दाहाल नै शक्तिशाली हुन्छन्’, पछिल्लो घटनाक्रमसँग परिचित पूर्वएमालेका एक नेता भन्छन्, ‘एमाले पंक्तिमा जति फाटो आउँछ, त्यसको लाभ अध्यक्ष दाहाललाई नै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .