समाज


अदालतले सोध्योः आत्महत्या अघि शालिकरामले कसको सहयोगमा भिडियो बनाए?

अदालतले सोध्योः आत्महत्या अघि शालिकरामले कसको सहयोगमा भिडियो बनाए?

दीपक खरेल
भदौ ९, २०७६ सोमबार १७:९,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी अनुसन्धानले मुख्य प्रमाण मानेको भिडियो रेकर्डमा चितवन जिल्ला अदालतले आशंका व्यक्त गरेको छ।

अदालतले शालिकरामले आत्महत्या गर्नु अघि बनाएका दुईवटा भिडियो उनले अन्य व्यक्तिको सहयोगमा बनाएको हुनसक्ने आशंका व्यक्त गरेको हो।

मुख्य न्यायाधीश हेमन्त रावलले दुरुत्साहन मुद्दाका प्रतिवादी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको थुनछेक इजलासपछि सोमबार दिएको १३ पृष्ठ लामो आदेशमा भिडियो लिने क्रममा शालिकरामले दुबै हात जोडेर प्रणाम दण्डवत गरेकाले भिडियो आफैले (सेल्फी) लिएको हो भन्नेमा आशंका व्यक्त गरेका हुन्।

उनले आत्महत्या अघि मृतकको बयान (मृत्युकालिन बयान) भनिएको भिडियो रेकर्डलाई वैज्ञानिक परिक्षण पूर्व त्यसलाई स्वीकार गर्न नसकिने आदेशमा उल्लेख गरेका हुन्। आदेशमा आत्महत्या गरेको समय र भिडियो लिएको समय अनुसन्धान प्रतिवेदन मिसिलमा उल्लेख नभएको जनाउँदै भिडियो लिँदा र मृत्युपछि शवको पोशाक फरक रहेकाले समेत भिडियो मृत्युकालिन घोषणा मान्न नसकिने उल्लेख छ।

न्यायाधीश रावलले लेखेको १३ पृष्ठ लामो आदेश पर्चाको पुछारमा भनिएको छ, ‘मुद्दामा प्रमाण स्वरुप पेश भएको भिडियो रेकर्डको प्रमाणिक मूल्य, प्रमाणिक विश्वसनियता र प्रमाणिक विशुद्धताको दृष्टिले भिडियोको विश्लेषण गर्दा घटनास्थल कोठामा भिडियो रेकर्ड गर्दाको क्षण र हाल मृतक रहेका शालिकराम पुडासैनी भित्रि बस्त्रमा देखिएका छन्। उनी झुण्डिएको अवस्थाको शवमा पाइन्ट शर्ट लगाएका छन्। यसकारण आत्महत्या गर्दाको अवस्था र भिडियो रेकर्ड गर्दाको अवस्था एउटै देखिएन।’

आदेशमा थप भनिएको छ, ‘यो फरक अवस्थाले भिडियोमा व्यक्त गरेको भनाई नै ‘वर्डस बिफोर डेथ अफ डाईङ पर्सन’ (मर्नुअघि मर्ने व्यक्तिका शब्द) थियो वा थिएन भनि एकिन गर्न भिडियो रेकर्ड गरेको समय र निजले आत्महत्या गरि देह त्याग गरेको समय शव परिक्षण प्रतिवेदनमा उल्लेख हुन आवश्यक देखिन्छ।’

१३ पेज लामो आदेशको एक अंश:

aadesh

आदेशमा भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकरामले आफ्नो दुबै हात जोडेर आफ्ना बृद्ध बुवा आमा र पत्नीलाई क्षमा याचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो उनी आफै (सेल्फी) खिचेको मान्न नसकिने उल्लेख छ। आदेशमा उनले स्थिर अवस्थामा कोठामा कतै भिडियो राखेको भए सो समेत प्रतिवेदनमा नभेटिएको उल्लेख छ।

न्यायाधीश रावलले आदेशमा लेखेका छन्, ‘अतः सो भिडियो रेकर्ड हुँदा शालिकरामले अर्को कुनै व्यक्तिको सहयोगमा रेकर्ड गरेको अवस्था देखिन्छ। अतः घटनास्थलमा मृतक बाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालिन घोषणापछि आत्महत्या गर्दा घटनास्थलमा रहेका अर्को व्यक्तिले उनलाई रोक्न, बचाउन हारगुहार गर्ने अवस्था रहेपनि त्यस्तो नदेखिनुले यसैलाई मृत्युकालिन घोषणा मान्न सकिएन।’

उनले आदेशमा भनेका छन्, ‘त्यो भिडियोसँग मेल खाने विषयलाई अनुसन्धान प्रमाणका रुपमा नजोडिंदासम्म त्यसलाई एकिन गर्न सकिंदैन्।’

चितवन अदालतले सोमबार थुनछेक बहसपछि गरेको आदेशमा प्रहरी अनुसन्धान प्रतिवेदनमा प्रमाण भनिएको रवि, युवराज, अस्मिता र शालिकराम बिचको टेलिफोन कल डिटेललाई सामान्य भन्दै धाकधम्की दिएको भ्वाईस रेकर्ड माग गरेको छ।

अदालतले इजलासमा पेश हुनुपूर्व शालिकरामको भिडियो काँटछाँट गरेर सामाजिक सञ्जालहरुमा आउनु कानुनको रोहबाट हितकर नभएको समेत उल्लेख गर्दै आपत्ती जनाएको छ।

अदालतले रविलाई पाँच लाख रुपैयाँ, युवराजलाई तीन लाख रुपैयाँ धरौटी सहित दुई शर्तमा सोमबार रिहा गर्न आदेश दिएको थियो। अस्मिता भन्ने रुकु कार्कीको हकमा सामान्य तारिखमा रिहा गर्न आदेश भएको छ।

अदालतले रवि र युवराजलाई यो घटनासँग सम्बन्धित व्यक्ति, संस्था र सन्दर्भका कुनैपनि समाचार सामाग्री मुद्दाको किनारा नलाग्दासम्म प्रशारणमा रोक लगाएको छ। यस्तै दुबैको विदेश भ्रमणका लागि समेत अदालतको पूर्व स्विकृती अनिवार्य गरेको छ।

पत्रकार शालिकराम साउन २० गते चितवनको होटल कंगारुमा मृत अवस्थामा फेला परेका थिए। उनका साथबाट बरामद मोबाइलमा भेटिएका दुईथान भिडियोमा आफ्नो आत्महत्याको कारण रवि, अस्मिता र युवराजले दिएको यातना भएको उल्लेख थियो। प्रहरीले तीनै जनालाई साउन ३० गते काठमाडौंबाट पक्राउ गरेर सोही दिन चितवन लगेको थियो।

प्रहरीले आइतबार अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो भने सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रहरीको न्यायीक हिरासतमा रहेका तीनैजना अदालतको आदेशपछि सोमबार नै थुनामुक्त भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .