समाज


राप्ती नदीको पुल जीर्ण

राप्ती नदीको पुल जीर्ण

नेपालखबर
भदौ ७, २०७६ शनिबार ३:४५,

हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ।

समयमै पुल मर्मत नहुँदा पुलको अधिकांश ठाउँको कालोपत्र उप्किएको छ। पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेका छन्।

यसले आवतजावतमा समस्या हुने गरेको स्थानीय भीम ओलीले बताए।

“पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ”, उनले भने, “खाल्डा तत्काल पुर्न आवश्यक छ, पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ।’ विसं २०५६ मा निर्माण भएको उक्त पुलको फलाममा खिया लाग्दा समस्या भएको हो।

नदी किनारका क्रसर उद्योगका कारणले पुल जीर्ण बन्दै गएको हो। नदी किनारमा खुलेका क्रसर उद्योगका सवारीसाधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले गर्दा पुल जीर्ण अवस्थामा पुगेको स्थानीय अमृत खड्काले बताए।

“पुलमा क्रसर उद्योगका ठूला–ठूला गाडी आवतजावत गर्छन्”, उनले, “पुल नजिकैबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ।”

निर्माण भएको २० वर्ष पुग्नै लाग्दा मर्मतलाई कुनै निकायबाट पहल नभएको गुनासो छ । लमही–कोइलावास सडकअन्तर्गतको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिकटनभन्दा बढी भारवहनको सवारी चलाउन नपाइने प्राविधिकको भनाइ छ।

पुल हुलाकी सडकअन्तर्गत रहेकाले हुलाकी सडकले मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी क्षितिज पोखरेलले बताए।

त्यस्तै दाङको राप्ती लोकमार्गअन्तर्गत बबई नदीको पुल पनि जीर्ण बनेको छ । तुलसीपुर–अमेलिया सडकखण्डको सित्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको हो।

पुलमा गरिएको पुरानो कालोपत्र ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समस्या हुने गरेको छ। समयमै मर्मत नहुँदा अहिले ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ कमजोर हुँदै गएको स्थानीयवासीले बताएका छन्।

पुलको पूर्वतिरको भाग कमजोर हुँदै गएको छ। विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो। हाल सो पुल भएर दैनिक ५०० बढी यातायातका साधन आवतजावत गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad