समाज


सशस्त्र प्रहरीमा रिक्त तीन डीआईजी बढुवा सुरु, सईबाट प्रवेश गरेका एसएसपी दाबेदार

सशस्त्र प्रहरीमा रिक्त तीन डीआईजी बढुवा सुरु, सईबाट प्रवेश गरेका एसएसपी दाबेदार

नेपालखबर
असार १७, २०७८ बिहिबार ४:४७,

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको प्रक्रिया सुरु भएको छ।

रिक्त तीन दरबन्दीमा तीन दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सूचना जारी गरेका छन्।

बढुवाका संभाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शैक्षिक योग्यतालगायत बढुवाका लागि आवश्यक प्रमाणपत्रसहित मूल्यांकन फारम भरी तीन दिनभित्र गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको छ।

डीआईजीका लागि नेपाल प्रहरीबाट आएका प्राविधिक सईहरू प्रमुख दाबेदार छन्। उनीहरू सशस्त्रमा प्रवेश गरेसँगै गैरप्राविधिक बनेका थिए।

डीआईजीका लागि एसएसपीहरू कालिदास धौवजी, कुमार न्यौपाने र विदुर खड्का प्रमुख दाबेदार हुन्।
यस्तै भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक पनि डीआईजीका लागि प्रतिस्पर्धी हुन्।

उनीहरू पनि नेपाल प्रहरीमा प्राविधिक सईका रूपमा सेवा सुरु गरेका थिए। तर पछि उनीहरू सशस्त्र प्रवेश गर्दै गैरप्राविधिक बनेका थिए।

नेपाल प्रहरीबाट आएका सईहरू डीआईजी बनिसक्दा पनि सशस्त्रमै भर्ना भएकाहरू भने एसएसपीबाट माथि जान सकेका छैनन्।

पहिलोपटक निरीक्षकमा भर्ना भएका ९ जना अहिले कायममुकायम एसएसपी भए भने दोस्रो ब्याचका ७५ जना एसपी नै छन्। तेस्रो ब्याचका ९०, चौथो ब्याचका ८० र पाँचौ ब्याचका ८५ जना अहिले डीएसपीमा कार्यरत छन्।

१६ वर्ष पहिले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका छैठौं ब्याचका ९० जना अहिले पनि त्यही दर्जामा अड्किएका छन्। त्यसपछि ८ वटा ब्याच निरीक्षकमा भर्ना भइसके। उनीहरूको पनि माथि जाने बाटो बन्द छ।

सँगै भर्ना भएका नेपाल प्रहरीका निरीक्षकहरू भने एसपी बढुवाको लाइनमा छन्। २०६७ का प्रहरी निरीक्षकहरू अहिले सबै डीएसपी भइसके। २०७० को टोली पनि डीएसपी बढुवाको लाइनमा छन्।

अहिले सशस्त्रमा एक डीआईजीबाहेक सबै उच्च तहमा नेपाल प्रहरीबाट आएको टोली छ।

सशस्त्र प्रहरी निरीक्षकमा छैठौं ब्याचदेखि १४औं ब्याचसम्मका सबै जम्मा भइसकेका छन्। १४औं ब्याचका ६० जनाको टोली अहिले मातातीर्थमा तालिम गरिरहेको छ।

त्यसअघि सातौं ब्याचका १२५, आठौंका ११, नवौंका ६५, दशौंका २२, एघारौंका ४०, बाह्रौंका ५३ र तेह्रौं ब्याचको २२ जनाको टोली पनि निरीक्षकमै कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad