समाज


उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

नेपालखबर
असार १६, २०७८ बुधबार १६:५,

उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ।

झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि ६ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत वन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो।

सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लालपूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ। दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

आन्दोलनकारीमध्येका एक रामकुमार भुजेलले आफूहरु लामो समयदेखि सुकुम्बासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उठिबास हुन पर्ने भएकाले नगरपालिकामा मागहरु राख्न गएको बताए।

नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत वन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ। घट्ना लगत्तै अवस्था समान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आन्दोलनकारीका अगुवाहरु संयुक्त रुपमा छलफल र वार्तामा जुटेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad