ad ad

समाज


सिंगापुरको नयाँ योजना: संक्रमितको संख्या नगन्ने, जनजीवन सामान्य बनाउने

सिंगापुरको नयाँ योजना: संक्रमितको संख्या नगन्ने, जनजीवन सामान्य बनाउने

नेपालखबर
असार १६, २०७८ बुधबार १५:३७,

कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिने जोखिमलाई रोक्न एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले प्रतिबन्धहरुमा कडाइ गर्दै लगेका छन्। तर, सिंगापुरले भने जनजीवन सामान्य बनाउने नयाँ मार्गचित्र अघि सारेको छ।

सिंगापुरको तीन सदस्यीय कोभिड–१९ कार्यदलले प्रस्ताव गरेको यो मार्गचित्रमा लकडाउन अन्त्य गरिने, कन्ट्याक्ट ट्रेसिङ बन्द गरिने र क्वारेन्टिनको व्यवस्था हटाएर यात्रा तथा ठुल्ठूला भेला, कार्यक्रमहरु सञ्चालन गर्न अनुमति दिइने उल्लेख छ। त्यति मात्र होइन, दैनिक कोभिड संक्रमितको संख्या गिन्ती गर्न पनि छाडिदिने प्रस्ताव कार्यदलको छ।

यो प्रस्ताव अन्य मुलुकहरुले अपनाइरहेको ‘शून्य संक्रमण’ को मोडेलभन्दा बिल्कुल अलग छ। उदाहरणका लागि एसियाको व्यापारिक हब हङकङमा यो मोडेल सफल भएको छ र ठूलो प्रकोप फैलिन पाएको छैन।

तर, शून्य संक्रमणको मोडल अपनाउँदा क्वारेन्टिनको कठोर विधि अपनाउनुपर्ने हुन्छ। नयाँनयाँ भेरियन्ट फैलिरहँदा हरेक पटक लामो समयसम्म यस्तो विधि लागू गर्न असम्भवप्रायः हुने सिंगापुरको कार्यदलका सदस्यहरुको दाबी छ। त्यसैले कोरोनासँगै बाँच्न सिक्ने प्रस्ताव उनीहरुले गरेका हुन्।

‘नराम्रो खबर के छ भने कोभिड–१९ कहिल्यै नहराउन पनि सक्छ। राम्रो खबर के हो भने भाइरसको माझमा पनि सामान्य तरिकाले बाँच्न सम्भव छ,’ गतसाता सिंगापुरका तीन मन्त्रीले एउटा लेखमा लेखेका छन्।

कार्यदलमा व्यापारमन्त्री गान किम योङ, वृत्तमन्त्री लरेन्स वङ र स्वास्थ मन्त्री वङ य कुङ छन्।

‘हामी महामारीलाई इन्फ्लुएन्जाजस्तै कमजोर बनाउन सक्छौँ र जीवनलाई सहज अघि बढाउन सक्छौँ,’ उनीहरुले भनेका छन्।

यो योजना सफल भए सामान्य जनजीवनमा फर्किन खोजिरहेका अन्य मुलुकका लागि पनि उदाहरण बन्न सक्छ। यसले १८ महिनादेखि महामारीको प्रतिबन्धमा परेका मानिसहरुको जीवनलाई सहज बनाउन सक्छ।

सिंगापुरको योजना के छ त?
प्रतिबन्ध हटाउने एउटै उपाय होे– व्यापक खोप। सिंगापुरले करिब दुई तिहाइ जनसंख्यालाई पहिलो मात्रा खोप लगाइसकेको छ। अगस्ट ९ सम्ममा यति संख्यालाई पुरै खोप लगाइसक्ने उसको योजना छ।

‘संक्रमणको जोखिम घटाउन खोप अत्यन्त प्रभावकारी छ। संक्रमित भइहाले पनि खोपले गम्भीर लक्षण देखिन दिँदैन,’ तीन मन्त्रीले भनेका छन्।

खोप लगाएका मान्छेहरुको संख्या बढ्दै जाँदा संक्रमितको संख्या निगरानी राख्ने सिंगापुरको तरिका पनि बदलिँदै जानेछ। त्यसपछि जो गम्भीर बिरामी हुन्छ वा जो आईसीयूमा पुग्छ, उसको मात्रै निगरानी गरिनेछ। सामान्य अवस्थाका संक्रमितलाई घरमै निको हुन दिइन्छ।

‘यसबाट स्वास्थ्य सेवा प्रणालीले नभ्याउला कि भनेर चिन्ता लिनुनपर्ने अवस्था आउँछ,’ मन्त्रीहरु भन्छन्।

बढी संक्रमणदर भएका भेरियन्ट फैलिरहँदा अर्को मात्रा खोप पनि आवश्यक पर्ने र भविष्यमा नियमित खोप लगाउने कार्यक्रम स्थापना गरिने मन्त्रीहरुले बताएका छन्।

परीक्षण र निगरानीलाई पनि सिमित गरिनेछ। उदाहरणका लागि कुनै ठूलो समारोह वा विदेशबाट घर फर्किंदा मात्र परीक्षण गरिनेछ। संक्रमितलाई ट्रयाक गरेर ऊसँग सम्पर्कमा आएकाहरुलाई परीक्षण गरिने छैन।

यसका लागि छिटो र सहज विधि खोजिने उनीहरुको भनाइ छ। किनभने पीसीआर गर्दा नतिजाका लागि लामो समय कुर्नुपर्ने हुन्छ। अहिले परीक्षणमा रहेका नयाँ विधिमध्ये एक ब्रेथलाइजर पनि हो। जसले परीक्षणको एकदेखि दुई मिनेटभित्रै नतिजा दिन्छ।

समय बित्दै जाँदा कोभिड–१९ का नयाँ उपचार विधि पनि पत्ता लाग्दै जानेछन्। मन्त्रीहरुले केही प्रभावकारी थेरापीको उल्लेख गरेका छन्, जुन गम्भीर बिरामीको उपचारमा प्रभावकारी हुनुका साथै निको हुने समय छोट्याउन पनि उपयोगी छन्।

मन्त्रीहरुका अनुसार नागरिकलाई सरसफाइ कायम गर्ने, बिरामी हुँदा भीडबाट टाढा बस्नेजस्ता सामाजिक जिम्मेवारी पालन गर्न पनि आग्रह गरिनेछ।

‘खोप, परीक्षण, उपचार र सामाजिक जिम्मेवारी पालना भएपछि निकट भविष्यमा कसैलाई कोभिड–१९ भयो भने हाम्रो प्रतिक्रिया अहिलेभन्दा बिल्कुल भिन्न हुनेछ,’ तीन मन्त्रीले भनेका छन्।

होसियारी अपनाउँदै अन्य मुलुक
भाइरस नियन्त्रणमा सिंगापुरलाई अहिलेसम्म सफल मानिएको छ। सीमामा कडाइ, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङका अलावा सामाजिक जमघट गर्न नपाइने र मास्क लगाउनुपर्ने नियमका कारण त्यो सम्भव भएको थियो।

सिंगापुरले सुरुवाती प्रकोप नियन्त्रणमा लियो। गत मे महिनामा चांगी विमानस्थलका कर्मचारीमा संक्रमण फैलिएको थियो। जसका कारण थप कडाइ गरिएको थियो।

५७ लाख जनसंख्या भएको सिंगापुरमा गएको महिना दैनिक औसत १८ जना संक्रमित फेला परेका थिए। महामारी सुरु भएपछि हालसम्म मात्र ३६ जनाको ज्यान गएको छ।

सिंगापुरले नयाँ तरिका लागू गर्ने विषयमा विचार गरिरहँदा अन्य मुलुक भने न्यून खोपदरका कारण प्रतिबन्धहरु थपिरहेका छन्। अस्ट्रेलियाका विभिन्न राज्यले राजधानी सहरहरुमा सोमबारदेखि लकडाउन गरेका छन्। अस्ट्रेलियालाई कोरोना रोकथाममा सुरुवाती सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरिएको थियो। तर, अहिले खोप लगाउने दर अत्यन्त कम छ। करिब ५ प्रतिशत जनसंख्याले मात्रै पूर्ण खोप पाएका छन्। अर्कोतिर बेलायतले ४८ प्रतिशत र अमेरिकाले ४६ प्रतिशतभन्दा बढीलाई खोप लगाइसकेका छन्।

न्युजिल्यान्डले उच्च सतर्कता कायम राख्दै अनिवार्य मास्क लगाउने विषयमा सोचविचार गरिरहेको जनाएको छ।

हङकङमा २१ प्रतिशतले खोप लगाएका छन्। जहाँ खोपप्रति अविश्वास उच्च छ। उसले जुलाई १ देखि बेलायतसँगको उडान बन्द गर्ने जनाएको छ।

मुख्यभूमि चीनमा १ अर्बभन्दा धेरै डोज खोप लगाइसकिएको छ। अझै लामै समय सीमा बन्द गर्ने चीनको सोच देखिन्छ। पर्यटकीय केन्द्र क्वान्चौमा ५ हजार कोठा भएको विशाल क्वारेन्टिन केन्द्र खोल्ने योजना बन्दैछ। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .