समाज


यात्रुसँग बढी भाडा लिने ८ जना चालक र कर्मचारी पक्राउ

यात्रुसँग बढी भाडा लिने ८ जना चालक र कर्मचारी पक्राउ

नेपालखबर
असार १६, २०७८ बुधबार ९:१४,

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरि परिचालन गरेको बिशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

काठमाडौं बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ वसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा दाङ घर भएका वर्ष ३५ का सन्तोष दमाई, वर्ष ३८ का कुशलराम बस्नेत, वर्ष २८ का गिम बहादुर गाहा मगर, रूपन्देहीका वर्ष ३६ का दिप नारायण थापा, कपिलवस्तुका वर्ष ४४ का शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन्। उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।

काठमाडौंबाट बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका २९ वर्षे राकेश रसाईली पक्राउ परेका छन्। रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए।

यसैगरि चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति ब्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षका झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ। घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन्। पक्राउ परेका ब्यक्तिहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा पश्चातको यो अबधीमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणाबढीसम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरि कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

भाडामा यात्रु ओसार्ने ४७ वटा निजी सवारी साधनहरू कारवाहीमा
विशेषगरी काठमाडौं उपत्यका बाहिरिने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ। त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाइएपछि कारबाही गरेको महाशाखाले जनाएको छ।

भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कर्पियो लगायतका निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाइएकोले नियन्त्रण एवं कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिए।

उनले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारबाही पनि सँगसँगै लगिएको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad