ad ad

समाज


रूपा सुनारविरुद्ध सामाजिक सञ्जालमा कुर्लनेलाई गायक शिव परियारको लामो जवाफ

रूपा सुनारविरुद्ध सामाजिक सञ्जालमा कुर्लनेलाई गायक शिव परियारको लामो जवाफ

नेपालखबर
असार १३, २०७८ आइतबार ३:१८,

काठमाडौंको बबरमहलमा भाडामा बस्न कोठा खोज्ने क्रममा रूपा सुनारलाई प्रधान थरकी एक घरधनीले जातकै कारण बहिष्कार गरेपछि यस विषयमा सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ।

खासगरी रूपा सुनारलाई जातीय विभेद भएकै छैन भन्दै दलितलाई गाली गर्ने जातिवादी जमात जुर्मुराएको छ।

यो पनिरूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

यस विषयमा एकताका चर्चित गायक शिव परियारले लामो वक्तव्य जारी गरेर गतिलो जवाफ दिएका छन्।

‘माया गरेको रै’छ नि त, चुम्मा पनि त खा’कै रहेछ, त्यसले घाँटी रेटेर मारेको पनि मारेको हो र,’ गायक परियारले लेखेका छन्, ‘रिसाको, गालीगलौज त्यस्तो केही गरेको थिएन त, कति राम्रोसँग म्वाइँ खाएर घाँटी रेटेको रहेछ नि! त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र? सामाजिक सञ्जालमा यसपालि यही सोच स्थापित गर्न विचार प्रस्तुत गर्ने क्रम जारी देखियो।’

गायक शिव परियारको जवाफको पूर्ण पाठ यस्तो छ :

‘नरिसाऊ ल नानी, बरु यस्सो बस्ने अरू साथी खोजिदेऊ है, यस्सो आउँदै गर है!’

‘कामी भन्नेबित्तिकै म झस्केँ!’

बा, हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो, अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि, यस्तो नि विभेद हुन्छ र भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए। यो अहिलेको पुस्ताले चैं विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो। जस्तै : हुन्छ नि, माया गरेजस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली।

गाली गरी गरी घाँटी रेटे पनि, अथवा ग्वाम्लाङै अँगालो हालेर गालामै च्वाप्प च्वाप्प म्वाइँ खाँदै
घाँटी रेटे पनि परिणाम त आखिर मृत्यु नै हो।

तर माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ, त्यसले घाँटी रेटेर मारेको पनि मारेको हो र?

रिसाको, गालीगलौज त्यस्तो केही गरेको थिएन त, कति राम्रोसँग म्वाइँ खाएर घाँटी रेटेको रहेछ नि! त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र?

सामाजिक सञ्जालमा यसपालि यही सोच स्थापित गर्न विचार प्रस्तुत गर्ने क्रम जारी देखियो। प्रस्तुत विचारअनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकतावाद छिरेको प्रस्ट भएको छ।

हिजोसम्म हामी जातीय विभेदरहित समता समाजका पक्षमा छौं भन्नेहरूको मुकुण्डो उत्रेको पनि देखियो। उनीहरूले यही ठान्ने रहेछन् कि माया गरेर, मीठो बोलेर गरिने विभेद विभेद नै होइन! मैले माथि भने नि– च्वाप्प च्वाप्प म्वाइँ खाएर घाँटी रेटेर मार्ने अपराध होइन भनेजस्तै!

यस्तो सोचसहित आधुनिक शैलीको जातीय विभेद कायम राख्न चाहनेहरूलाई रूपा सुनार र सरस्वती प्रधानको यो विषयले झस्काइदिएको हुन सक्छ।

अशान्ति भो, सामजिक सदभाव खल्बलियो, यस्तो के गरेको भन्नेहरूलाई मेरो प्रश्न छ– हिजो आफूलाई उच्च जात भनिने पुस्ताले, हिजोको कथित तल्लो जात भनिने पुस्तालाई विभेद गर्दा कथित तल्लो जात बनाइएका पुस्ताले प्रतिवाद या विरोध गर्न सकेनन्, आफूमाथि भएको विभेद सहन बाध्य भए, किनकि उनीहरूलाई कानुन बनाएर हातखुट्टा बाँधिएको थियो, अत्यन्तै कमजोर बनाइएको थियो।

आफूमाथि जबर्जस्ती लादिएको विभेदको प्रतिवाद गर्न नसक्ने अवस्थामा, विभेद सहन बाध्य पारिएका वर्गले विभेद सहिदिएकै कारण समाजमा कथित उच्च वर्गले शान्ति महसुस गरे। किनकि उनीहरूलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो। आफूलाई उच्च जातको मसिहा मान्नेले बोली वचन र जुत्ताको नोकले कथित तल्लो बनाइएका जातिमाथि प्रहार गरिरहे र आफ्नाका लागि निर्माण गरेको शान्ति ती जातीय उत्पीडित वर्गलाई त सधैं मुर्दा शान्तिझैं महसुस भइरह्यो।

तर आज समय फेरिएको छ। गाउँगाउँ, सहर सहरमा धेरै रूपा सुनारहरू छन्। उनीहरू छद्मभेषी सोचलाई बुझ्न चुक्दैनन्। अन्याय सहँदैनन्। विरोध गर्छन्। अनि आज पनि आफू उच्च भई राखेर अरूलाई निचको दर्जामा देखिरहन चाहनेहरूको फेरि टाउँको दुख्न सुरु हुन्छ।

‘नरिसाऊ ल नानी भनी भनी आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिई नै रहने हो भने यो विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रूपा सुनार चरित्रको द्वन्द्व समाजमा जारी नरहला भन्न सकिन्न र त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिनँ म।

त्यसैले आमा, बाबा, हजुरआमा, हजुरबुवाका अपराध अपराध नै होइन भन्ने कुतर्क छाडेर जातीय समता कायम गर्ने बाटोतर्फ सबै नेपाली लाग्न जरुरी छ।

किनभने उत्पीडित वर्गले छद्मभेषी जातीय समानता खोजेको हैन। राज्य, समाज र व्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समतामुखी व्यवहार अपेक्षा गरेको हो।

पहिलो कुरा यो दलित भन्ने शब्द वर्ग वा सम्प्रदाय होइन। यो विभेद अन्त्यका लागि संघर्ष गर्न बनाइएको सांगठनिक मोर्चाको नाम हो। हिजोका दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका २० भन्दा बढी जातहरूको साझा संगठन हो दलित। जातीय विभेदविरुद्ध जातीय समानता होइन कि जातीय समताका लागि यसको आन्दोलन जारी छ।

यहाँ खै किन हो पछिल्लो चरणमा दलित दलित समुदाय भनेर यसलाई जात नै बनाइएको छ। यो गलत छ। २०६२/०६३ पछि बनेको गणतान्त्रिक सरकारले हिजो चरम विभेद भोगेका दलित, मधेसी, जनजातिलाई वर्ग उत्थानका लागि आरक्षण व्यवस्था गरेको हो। समावेशी हैसियतमा कोटा उपलब्ध गराएको हो। जसमा दलितको जम्मा ९ प्रतिशत पर्दछ।

तर आफूलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पूर्ण कार्यान्वयन गर्न बन्द गरेको छ।

हरेक विभेदको घटनामा एउटा सामन्त वर्गको पिँढी सामाजिक सञ्जालमा कोटा खारेज गर, दलित कोटा खारेज गर भनी कुर्लन्छ। उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउनु हो।

उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन। किनकि महिला आरक्षणका नाममा त ३३ प्रतिशत उसैको वर्गको प्रतिनिधित्व छ। यो विषयमा बोल्दा उसको आफ्नै वर्गको टाउको फुट्छ भन्ने उसलाई थाहा छ, त्यै भएर डराँउछ।

उसले जनजातिको आरक्षणको विषयमा त झन् बोल्ने कुरै भएन एक नम्बर प्रदेश नै बन्द हुने सम्भावना भो। जनजातिहरूसँग भिड्न अलि आँट पुगेन उसको।

अब आयो मधेसी समुदाय अहिले तराईका मधेसी समुदायको आरक्षण कटौतीका विषयमा उसले चुइँक्क बोल्न सक्दैन। किनभने देश नै दुइटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्द हुने अवस्था आउन सक्दछ।

त्यसैले अब बाँकी को रह्यो भन्दा हिजो चरम जातीय विभेद गरेर दासत्व स्वीकार गर्न बाध्य पारिएका दलित, यिनिहरूलाई पेलेरै ठीक पार्नुपर्छ यिनीहरूलाई जे गर्दा नि हुन्छ भन्ने सोचका साथ दलित कोटा खारेज गर भन्ने अभियानका साथ निशाना साँधिएको छ।

के २०६२/०६३ अगाडि विभेद थिएन? दलितको कोटा खारेज हुनेबित्तिकै सबले समतामूलक अधिकार पाउँछन्? जातीय समतासहितको समानता कायम हुन्छ?

कदापि हुँदैन, यो त जातीय रूपमा हिजो दबाइएका, दलनमा पर्न बाध्य बनाइएका, मान्छे पनि होइन कि चरम जनावरभन्दा पनि निच व्यवहार खप्न बाध्य पारिएका, दलितका आजका पुस्ता, जो समाजमा शिक्षित भएर बोल्न थाले, उनीहरूको पनि पहुँच पुग्न थाल्यो, उनीहरू पनि हजुर हजुर गरेर टाउको निहुर्याएर बोल्नुको सट्टा आँखामा आँखा मिलाएर व्यवहार गर्न थालेपछि अ हो ! अब हाम्रो भाग खाने भो भन्ने डरले फेरि उनीहरूलाई त्यही दासत्वको जीवन बाँच्न बाध्य पारिनका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्दै छ। उसले जातीय विभेद हुनु हुँदैन भन्दैन। बरु कोटालाई कोठासँग जोडेर बहस गर्छ। यो त्यै सामन्तको पिँढी हो, जसले हिजो मान्छेलाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भैसक्दा पनि एउट वर्ग हरेक दिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउन बाध्य छ।

आफ्नो व्यक्तिगत सम्पत्तिलाई यदि कसैले आम्दानी गर्नकै लागि सेवाको माध्यम अपनाएर पब्लिक प्लेट्फर्मसम्म लान्छ भने चाहे मीठो बोलेर होस्, चाहे तीतो बोलेर, त्यँहा जातीय विभेद गर्न पाइँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .