ad ad

समाज


आफैँले चलाउने गरेको टिपरको चक्कामुनी भेटियो चालकको शव, आफन्त भन्छन्- यो सुनियोजित हत्या हो

आफैँले चलाउने गरेको टिपरको चक्कामुनी भेटियो चालकको शव, आफन्त भन्छन्- यो सुनियोजित हत्या हो

शैलेन्द्र महतो
असार १३, २०७८ आइतबार २:१७,

धनुषामा आफैँले चलाएको टिपर किचेको अवस्थामा चालकको शव फेला परेको छ।

सबैला नगरपालिका १० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो। लामा उदयपुरको कटारी नगरपालिका २ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।

आफैँले चलाउने गरेको टिपरकै टायरले किचिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो। आफन्तले उनको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धानको माग गरेका छन्। उनको हत्या भएको दावी आफन्तको छ।

मृतक बुद्धका दाई हरि लामाले सुनियोजित रुपमा टिपरले किचेर भाइको हत्या गरिएको दाबी गरे। टिपरको चक्काले मृतकको टाउको क्षतविच्छेद भएको छ।

इलाका प्रहरी कार्यालय सबैलाले पनि घटना शंकास्पद भएको जनाएको छ। प्रहरी निरीक्षक राजेश सिग्देलले शवसमेत नचिनिने अवस्थामा फेला परेकाले अहिले केहि भन्न नसकिने बताए।

‘मृतकको अनुहार देखिएको छैन। घटना अनुसन्धानकै क्रममा छ। अहिले नै यही भएको हो भन्न सकिन्न,’ प्रहरी निरीक्षक सिग्देलले नेपालखबरसँग भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ। केही समयपछि घटना विवरण सार्वजनिक गर्ने छौँ।’

प्रहरीले शनिबार साँझ ६ बजे घटना भएको बताएपनि मृतकका आफन्तले भने शनिबार दिउँसो साढे ३ बजेतिरै घटना भएको दाबी गरेका छन्। चालकको शव फेला परेको ठाउँमा टिपर स्टार्टकै अवस्थामा थियो। प्रहरी पुगेर टिपरको स्टार्ट बन्द गरेको मृतक परिवारले जनाएका छन्।

लामाको हत्या भएको भन्दै मृतक परिवारले शव उठाउन दिएका छैनन्। ‘घटनास्थलमा टिपर फँसेको देखिँदैन। टिपर ४÷५ फिट ब्याक गरेर पछाडिबाट किचेको जस्तो देखिन्छ। यो सुनियोजित हत्या नै हो,’ मृतकका दाइ हरिले भने।

घटनाको सुक्ष्म अनुसन्धान नभएसम्म शव उठाउन नदिने परिवारजनको अडान छ। उक्त टिपर सडक निर्माणमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .