ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न सकेको छैन।
गएको २४ घण्टामा ब्रालिमा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीले बताएका छन् । यस अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ब्राजिलमा दुई हजार १३१ जनाको निधन भएको छ।
ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जानेको संख्या पाँच लाख नाघेको छ।
स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबारसम्ममा पाँच लाख चार हजार ७१७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ।
सन् २०२० फेब्रुरुअरी २६ बाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको निरन्तररुपमा मृत्यु भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी मंगलबारसम्म एक करोड ८० लाख ५४ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्। हिजो एकै दिन ब्राजिलमा ८७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समयमा मृत्यु हुनेको संख्या केही घटेको देखिएको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन।
ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको छ। ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देश हो।
यहाँका आठ करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । पछिल्लो समयमा धेरै नागरिकमा खोप लगाइएको छ तर पनि सङ्क्रमण भने घट्न सकेको छैन। एजेन्सी

प्रतिक्रिया