ad ad

समाज


तिब्बतमा थुनिएको तामाकोसी खुलाउन चिनियाँ पक्षसँग सम्पर्क प्रयास, सतर्कता अपनाउन सूचना

तिब्बतमा थुनिएको तामाकोसी खुलाउन चिनियाँ पक्षसँग सम्पर्क प्रयास, सतर्कता अपनाउन सूचना

नेपालखबर
असार ५, २०७८ शनिबार ०:३०,

पहिरो खसेर चीनतर्फ तामाकोसी नदीको प्रवाह रोकिएपछि दोलखा र रामेछापको नदी तटीय क्षेत्रमा त्रास बढेको छ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहर नजिकै पहिरोका कारण स्थानीय रुम्सि खोला थुनिएको सूचना आफूहरुलाई प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। तामाकोसीको सहायक नदी रुम्सि चीन तर्फपर्छ।

‘पहिरोले रुम्सिखोलाको प्रवाह रोकिएको खबर हामीलाई चिनियाँ पक्षबाट राति नौ बजे प्राप्त भएको हो,’ सिडिओ घिमिरेले शनिबार बिहान नेपालखबरसँग भने, ‘त्यही अनुसार हामीले सतर्कता अपनाउन सूचना जारी गरेका हौँ।’

उनले पछिल्लो समय चिनियाँ पक्षसँग सम्पर्क हुन नसकेकाले थुनिएको खोला खुल्यो/खुलेन जानकारी प्राप्त हुन नसकेको बताए। ‘हामी चिनियाँ पक्षसँग सम्पर्कको लागि प्रयास गरिरहेका छौँ, त्यहाँ नेटवर्कको समस्या देखिएको छ,’ सिडिओ घिमिरेले भने।

राति भने चिनियाँ पक्षले खोला थुनिएर निकै ठूलो ताल बनेको जानकारी गराएको उनले बताए। ‘खोला थुनिएर बनेको ताल निकै ठूलो छ भन्ने सूचना हामीलाई आएको छ,’ घिमिरेले भने, ‘तामाकोसीमा शनिबार बिहानसम्म ठूलो बाढी आएको छैन। सायद त्यो थुनिएको तालबाट अझै पानी बग्न सुरु गरेको छैन होला।’ चिनियाँ पक्षले नै त्यो ताल खोल्नुपर्ने उनले बताए।

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति १० बजे सूचना प्रकाशित गरी तामाकोसी नदीमा बाढी आउन सक्ने भएकाले नेपाल चीन सीमा नजिक र तामाकोसी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो।

जिल्ला प्रशासन कार्यालय दोलखाले राति जारी गरेको सूचनामा चीनको रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको थियो। कार्यालयले तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्जी सहर र सोको आसपासमा भारी वर्षा आएसँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोसी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल चीन सीमा नजिकको बस्तीलगायत तामाकोसी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँदा साथ सुरक्षित स्थानतर्फ जान हुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी समेत गराउनु हुन अनुरोध गरिन्छ।’

19943928914342690469200378522589908678163009n 1862021083712 1000x0

तामाकोसी थुनिएको खबर प्राप्त हुनासाथ रामेछापको नदी तटिय क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए। ‘हामीले रातिदेखि नै माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गर्दै आएका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .