समाज


मेलम्ची बाढीमा चिनियाँ र भारतीय कामदार पनि घाइते, थप १९ को उद्धार

मेलम्ची बाढीमा चिनियाँ र भारतीय कामदार पनि घाइते, थप १९ को उद्धार

नेपालखबर
असार २, २०७८ बुधबार १२:३०,

सिन्धुपाल्चोकको बाढी पहिरोमा परी चिनियाँ कम्पनी सिनो हाइड्रोमा कार्यरत् ५ जना कामदार घाइते भएका छन्।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते हुनेमध्ये दुई जना चिनियाँ नागरिक, दुई भारतीय र एकजना नेपाली हुन्।

भारतीय र चिनियाँ नागरिकहरुको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ। नेपाली नागरिकको भने धुलिखेलमा उपचार भइरहेको वागमती प्रदेशका प्रहरी प्रवक्ता एसएसपी मीरा चौधरीले जानकारी दिइन्।

थप १९ जनाको उद्धार गरिएको छ। १५ जनालाई ललितपुरस्थित सिनोहाइड्रोको कार्यालयमा ल्याइएको छ भने चार जना मेलम्चीमै छन्। यीमध्ये कति भारतीय र चिनियाँ नागरिक छन् भन्ने खुलाइएको छैन।

पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्केभन्दा माथिबाट पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो। थुनिएको बाँध फुट्दा हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार दिउँसो ४ बजेसम्म ६० जनाको उद्धार गरिएको छ।

एक बजेदेखि त्यहाँ कुनै सम्पर्क हुन नसकेको खनालले नेपालखबरलाई बताए। यसअघि स्थानीयले भने बेपत्ता ७ जनाको शव फेला परेको बताएका छन्। तर खनालले यसबारे औपचारिकरुपमा जानकारी आइनसकेको बताएका छन्। प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सबै सुरक्षा निकायका प्रमुख पनि अहिले घटनास्थलमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad