ad ad

समाज


कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

नेपालखबर
असार १, २०७८ मंगलबार १३:३०,

लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ। पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो।

कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए। उनका अनुसार बिहान चार बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन्। दश घरपरिवार र उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

बजार र शिला डुबानमा परेसँगै उक्त स्थानका वासीन्दा आतंकित बनेका छन्। नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यावसायी सुरक्षित स्थानमा सामान सार्न थालेका छन्। शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचनासमेत डुबाएको छ।

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उनले बताए। यता पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए। कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो। पानी नरोकिएकाले अझै जोखिम बढ्ने अवस्था छ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ। सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण समस्यामा पर्ने गरेका छन्।

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए। विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताए।

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्। उनका अनुसार सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .