देशभर फैलिएको मौसम मंगलबारदेखि थप सक्रिय भएको छ। जसले गर्दा देशका धेरै स्थानमा हल्कादेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबार दिउँसो १ बजे विशेष मनसुन बुलेटिन–१ जारी गर्दै मनसुन थप सक्रिय भएको आज दिउँसो तथा राति देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो।
साथै तीनवटा प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने देखिएकाले सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
विशेष बुलेटिनमा भनिएको छ : हाल भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको छ। यसका कारण आज दिउँसो र राति नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
अगाडि भनिएको छ : त्यसैले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद्का अनुसार वर्षाको मात्रा ५० मिलिमिटर माथि भयो भने भारी तथा १०० मिलिमिटर नाघ्यो भने धेरै भारी वर्षा भनिन्छ।
Shares
प्रतिक्रिया