दार्जिलिङका गायक एवं सङ्गीतकार सफल थापाको निधन भएको छ। उनी चर्चित गायिका स्नेहश्री र सानिध्य थापा (दिदी-बहिनी) का पिता हुन्।
तीन साता अघिदेखि बिरामी रहेका सफल थापाको ५८ वर्षको उमेरमा सोमबार राति ११.२५ बजे सिलगढ़ीको एक नर्सिङ होममा निधन भएको ‘पोस्ट कोविड कम्प्लिकेसन्स’ ले जनाएको छ।
शिक्षण पेशामा आबद्ध उनी गीत सङ्गीतमा समर्पित थिए। गीत/सङ्गीतका लागि जहिल्यै केही गर्न उनी हुटहुटिरहन्थे। गीत/सङ्गीतकै लागि सोचिरहन्थे।
उनको यस्तै हुटहुटी र सोचाइको प्रतिफल हो-सङ्गीतिक शृङ्खला कार्यक्रम ‘अब मेरो पालो’। जसमा नयाँ-पुराना कलाकारहरूले मञ्च पाइरहेका थिए। थापाको पहिलो गीति एल्बम ‘रूद्रास’ हो।
पछिल्लो समय उनले गीत गाउनभन्दा सङ्गीत भर्नमा आफूलाई बढ़ी सक्रिय राखेका थिए।
उनले दर्जनौँ गीत गाउनुका साथै धेरै गीतमा सङ्गीत भरेका छन्। नाम अनुसार उनी गीतरसङ्गीतको क्षेत्रमा सफल बनेका छन्।
स्मरण रहोस्, पछिल्लो एक महिनायता दार्जिलिङले एकपछि अर्को गर्दै चर्चित कलाकारहरू गुमाइरहेको छ।
यस बीचमा गायिका/नाट्य कलाकार रोना छेत्री, नाट्य कलाकार शान्ति छेत्री, नाट्य कलाकार/लेखक शशी सुनाम र नाट्य कलाकार शनि कुमार थामीलाई दार्जिलिङले गुमाइसकेको छ।
Shares

प्रतिक्रिया