नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा सुरु भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न एमालेले संसदीय दल बैठक बोलाएको हो।
आज प्रदेश सभामा माअोवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले विश्वासको मत लिँदैछन्।
संसदीय दलको बैठकमा नेपाल र ओली समूहका सम्पूर्ण सांसद उपस्थित रहेको एक सांसदले नेपालखबरलाई जानकारी दिए।
नेकपा एमालेको ओली समूहले १० जेठमा सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर १२ जेठमा बसेको नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो।
प्रदेशसभामा एमालेको सभामुख सहित २५ सांसद छन्। जसमा नेपाल समूहको बाहुल्यता छ। नेपाल समूहसँग १५ सांसद छन् भने ओली समूहमा ९ जना सांसद मात्रै देखिएका छन्।
ओली समूह मुख्यमन्त्री भट्टलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने र नेपाल समूह माओवादी केन्द्रकै नेतृत्वकै सरकार बचाउने पक्षमा छ । ११ सदस्य मन्त्रीमण्डलमा एमालेको नेपाल समूहका ४ मन्त्री र ३ राज्यमन्त्री छन्।
मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, कस्तो छ सम्भावना?

प्रतिक्रिया