सशस्त्र प्रहरी टोलीले सुनसरी जिल्लाको देवनगञ्ज गाउँपालिका–५ साहेवगञ्जस्थित बुढिखोलाको पुलबाट १४ लाख २५ हजार नेपाली रपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय विनोद साह र रोशन कुमार साह छन्।
सुनसरीको साहेवगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०२–०४० प ५४९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रहेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरिएको छ।
बरामद रुपैयाँ तथा मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ। उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ।
खैरो हेराइनसहित दुई जना पक्राउ
यता, कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षीय सुरेश नेपाली र २८ वर्षीय सन्तोष विष्ट छन्।
भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो ।
पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

प्रतिक्रिया