मुलुक सञ्चालनको केन्द्रीय सचिवालय मानिने सिंहदरबारभित्र मंगलबार एउटा अचम्म लाग्ने घटना भएको छ। राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसीले आफ्नै कार्यालयमा विष सेवन गरी आत्महत्या गरेका छन्।
घटना अनुसन्धान गरिरहेको प्रहरीका अनुसार उनको साथबाट सुसाइड नोट बरामद भएको छ। ‘मेरो आफ्नै कारणले यो बाटो रोजेको हुँ यसमा कसैको पनि दोष छैन ’, उनले सुसाइड नोटमा लेखेका छन्। उनी मृत भेटिएको ठाउँमै विषको बट्टा र पाकेको केरा भेटिएका छन्।
अनुसन्धान अधिकारीहरूका अनुसार उनकाे शव भेटिएकाे मिटिङ हलमा रहेकाे ह्वाइट बाेर्डमा कसैलाइ दाेष नदिनु लेखिएकाे भेटिएकाे थियाे। उनले सुसाइड नाेट लेखेर पर्समा राखेका थिए। प्रहरीले बाेर्डमा लेखेकाे र सुसाइड नाेटमा भएकाे अक्षर बच्चुकै भएकाे पुष्टि गरेकाे छ।
मृत्युको घटना थाहा पाएपछि योजना आयोग परिसरमा प्रहरी तथा अन्य कर्मचारीहरू। तस्विर: प्रविन कोइराला
‘घटनास्थलबाट सलफस नामको विषादीको डिब्बा र केरा बरामद भएको छ’, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले नेपालखबरसँग भने, ‘फरेन्सिक भ्यानसहितको टोलीले थप अनुसन्धान गरिरहेको छ।’ अनुसन्धानका लागि प्रहरीले फरेन्सिक विज्ञलाई समेत झिकाएर मुचुल्का उठाएको छ।
घटनाअनुसन्धान गरिरहेको प्रहरीले नासु केसी सोमबार राति कार्यालयमा बसेको हुनसक्ने अनुमान गरेको छ। ‘राति कार्यालयमै रहेर विष सेवन गरेको देखिन्छ। घटनास्थलको अवस्थाले त्यसको आसपासमा उनले केरा खाएको हुनसक्ने देखाएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
घटना अनुसन्धानका लागि आयोग कार्यालय छतमा प्रहरी। तस्विर: प्रविन कोइराला
मंगलबार कार्यालय खुलेसँगै उनको मृत्युको विषय सहकर्मी कर्मचारीले थाहा पाएका थिए। १० बजे कार्यालय पुगेका योजना आयोगका कर्मचारीले उनलाई मृत अवस्थामा भेटेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले सीसीटीभी फुटेज हेरेर समेत अनुसन्धान गरिरहेको छ।
सिंहदरबार संघीय सरकारको प्रशासकीय केन्द्र हो। सरकारका अधिकांश मन्त्रालय एवं महत्वपूर्ण कार्यालयहरु यहीँ रहेका छन्। सिंहदरबार मुख्यद्वार तथा मन्त्रालयहरुमा बाक्लै सुरक्षाकर्मी रहन्छन्। सुरक्षा घेराभित्र रहेको कार्यालयभित्रै कर्मचारीले किन आत्महत्या गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ।
उनी कीर्तिपुर नगरपालिकाको टौदहका स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया