राजनीति


प्रतिनिधिसभा बैठकः यी विषयमा गराए सांसदले ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकः यी विषयमा गराए सांसदले ध्यानाकर्षण

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ८:३८,

सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराए। सितापाईला–रामकोट–भीमढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपाटी हुँदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले साईकल लेनको उपयुक्त व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद देव प्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए। उनले अबिरल वर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए। उनले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए।

राजपाका सांसद अमृता अग्रहरीले आफुहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिइन्। गिरिश चन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक प्रतिवद्धता जाहेर गरेर पनि अहिलेसम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराइन्।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो भनी प्रश्न गरे। उनले आरक्षण बचाउ अभियान अन्र्तगतको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ती जनाउँदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी पनि दिए।

नेकपाका सांसद मोहन बानियाले मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाईली स्नेहीले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad