बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण घटना छानबिन गर्न स्थानीय प्रशासनले गठन गरेको समितिले आक्रमणकारीकै पक्षपोषण गर्नेखालको प्रतिवेदन तयार गरेको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट संयोजकत्वको समितिले पीडितहरू आवेगमा आएर घटना भएको प्रतिवेदन तयार गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधबार छानविन समितिको प्रतिवेदन सार्वजनिक गरेका छन्।
१३ जेठमा दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुरसहितका आफन्तले स्वास्थ्यकर्मीमाथि अस्पतालभित्रै सांघातिक आक्रमण गरेका थिए।
आक्रमणबाट जोगिन अस्पतालका डाक्टर र नर्सहरूले भवनको एक तलामाथिबाट हाम फालेका थिए। आक्रमणको नेतृत्व गर्ने मानबहादुर एमालेको दाङ निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्। रावतसहित आक्रमणमा संलग्न झण्डै २० जनालाई प्रहरीले पक्राउ गरेर छानविन गरिरहेको छ।
राजनीतिक प्रभावको आधारमा आक्रमणकारीको पक्षपोषण गर्ने खालको प्रतिवेदन तयार गरिएको भन्दै स्वास्थ्यकर्मीले भने असन्तुष्टि जनाएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी विष्ट संयोजकत्वको समितिमा भेरी अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ र धनराम ओली, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा.विनोद कर्ण, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा.रोमन किदवाई, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभाष खड्का सदस्य छन्।
प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका सिडिओ शिवराम गेलालले भने, ‘बिरामीको ज्यान जाँदा मृतकका आफन्तलाई रिस उठ्नु स्वाभाविक हो । रिस थाम्न नसक्दा गालीगलौज र हातपात हुन सक्छ । यसमा अस्पताल प्रशासन सजग हुन जरुरी छ।’
दोषीमाथि कारबाहीको माग गर्दै भेरी अस्पतालका चिकित्सक, स्टाफ नर्स र स्वास्थ्यकर्मी अहिले पनि आन्दोलनमा छन् । उनीहरूले हरेक दिन साँझ एक घन्टा सांकेतिक विरोधका कार्यक्रम गरिरहेका छन् । राजनीतिक शक्तिको आडमा दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै स्वास्थ्यकर्मीको आन्दोलन जारी रहेकै वेला बुधबार छानबिन समितिले घटना आवेगमा भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गर्नु गलत भएको उल्लेख छ । ‘अस्पतालजस्तो संवेदनशील ठाउँमा तोडफोड र हातपात गर्नु गलत हो, तर अस्पताल प्रशासनले पनि सुधार गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
छानबिन समितिका सदस्यसमेत रहेकी नर्सिङ संघकी जिल्ला अध्यक्ष लक्ष्मी केसीले प्रतिवेदन तयार गर्दा आफूले घटना सुनियोजित रूपमा भएको लेख्न अडान राख्दा पनि सुनुवाइ नभएको बताइन्। ‘मैले घटना सुनियोजित भएको भन्दै प्रतिवेदनमा लेख्नुपर्ने कुरा राखेकी थिएँ । तर, अन्य सदस्यले सुनियोजित नभई आवेगमा आएर भएको अडान लिए,’ उनले भनिन् ।
यो पनि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले
स्वास्थ्यकर्मीविरुद्ध आक्रमण: ३ जना पक्राउ, सीडीओको संयोजकत्वमा छानबिन समिति गठन

प्रतिक्रिया