समाज


निषेधाज्ञामा कालोबजारी गर्ने ३७ जना पक्राउ

निषेधाज्ञामा कालोबजारी गर्ने ३७ जना पक्राउ

नेपालखबर
जेठ १९, २०७८ बुधबार १३:१८,

अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेमडेसिभिर लगायतका स्वास्थ्य तथा अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई पक्राउ प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कोभिड १९ का कारण सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरुलाई विभिन्न समयमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान गरिएको छ।

डेढ महिनाको अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रेमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन्।

यस्तै १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँडडुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने छन्।

उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रेमडेसिभिर तथा १ थान नक्कली रेमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर र २ हजार लिटर मिथानोल रसायन बरामद भएको छ।

यस्तै ३ हजार ६ सय लिटर इथानोल रसायन, विभिन्न स्टिकरहरू, २ थान बिलप्याड र ४६ काटन र विभिन्न औषधि समेत बरामद भएको छ।

त्यस्तै, काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दियालगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ।

बाँके नेपालगंज उपमहानगरपालिका ८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरी सहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad