भोलि अर्थात् बिहीबार नेपालले कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेल ९:४५ बजे चाइनिज ताइपेईविरुद्ध खेल्दै छ।
यसअघि हराइसकेको टोलीविरुद्ध नेपाल उच्च खेल पस्किने मनोबलमा रहे पनि मौसम चुनौतीपूर्ण रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन्।
खासगरी मौसमका कारण खेल्न सहज नभएको उनको प्रतिक्रिया छ।
खेलअघिको पत्रकार सम्मेलनमा उनले भने, ‘मौसमका कारण कुवेतमा खेल्न सजिलो छैन । त्यसकारण हामी दुवै टोलीलाई खेल्न कठिन हुनेछ।’
उनले एएफसी एसियन कप क्वालिफायर्सका लागि चौथो स्थान जोगाउन जितका लागि खेल्ने प्रतिक्रिया दिए।
‘एएफसी एसियन कप क्वालिफायर्सका लागि हामी चौथो स्थान जोगाउन चाहन्छौँ। त्यसका लागि भोलिको खेल जित्नुको विकल्प छैन’, उनले भने, ‘तयारीका लागि हामीले धेरै मैत्रीपूर्ण खेलहरु खेलेका छैनौँ। हामीसँग युवा र सक्षम टोली छ। हामीले उनीहरुलाई धेरै दबाब सिर्जना गर्नुहुँदैन। उनीहरु (विपक्षी) नयाँ छन् र प्रशिक्षक पनि नयाँ छन्।’
त्यस्तै, चाइनिज ताइपेईका प्रशिक्षक भोम कान्हुमले पनि भोलिको खेलमा मौसम चुनौतीपूर्ण रहेको बताए।
‘यहाँको मौसमलाई आत्मसात् गर्न कठिनाइ छ। र, यही नै हाम्रो ठूलो चुनौती पनि हो’, उनले पत्रकारहरुसँग भने।
चाइनिज ताइपेई मुख्य र देशबाहिर रहेका खेलाडीविनै नेपालसँग भिड्नलागेको उनले जानकारी दिए।
‘हाम्रो मुख्य खेलाडी र देशबाहिर खेल्ने खेलाडी कोरोना महामारीका कारण जोडिन पाएका छैनन्’, उनले भने, ‘र, मलाई के आशा छ भने नयाँ खेलाडीहरुले आफूलाई प्रमाणित गर्न यो अवसर गुमाउनेछैनन्।’
समूह चरणका ८ मध्ये ५ खेल खेलिसकेको नेपाल बाँकी ३ खेल खेल्न कुवेत पुगेको हो।
न्यूट्रल भेन्युका रुपमा कुवेतमा छनोट खेल हुनलागेको हो। नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।
विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय सम्भावना मात्र जीवित छ। बाँकी छनोट खेलबाट नेपालले एसिया कप छनोटको सम्भावना बाँकी छ।
त्यसका लागि बाँकी तीन खेलमा आउने नतिजामा भर पर्दछ।
समूह चरणमा नेपाल ३ अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ।
नेपालभन्दा पछि रहेको चाइनिज ताइपेई अंकविहीन छ।
विश्वकप छनोटका ५ खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउनुबाहेक बाँकी सबै टोलीसँग पराजित भएको थियो।
कुवेतसँग पहिलो खेलमा ७–० को हार व्यहोरेको नेपालले दोस्रो खेल पनि १–० ले गुमाएको थियो। नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।
एसियाको पावर हाउसका रुपमा रहेको अष्ट्रेलिया फिफा वरीयताको ४१औँ स्थानमा छ भने जोर्डन ९५औँ स्थानमा छ। त्यस्तै चाइनिज ताइपेई १ सय ४१औँ र नेपाल १ सय ७१औँ स्थानमा छ।
नेपालले अष्ट्रेलिया र जोर्डनलाई अहिलेसम्म हराउनसकेको छैन। सन् २०११ मा काठमाडौंको दशरथ रंगशालामा भएको विश्वकप छनोटमा जोर्डनसँग एक–एकको बराबरी गर्नु नै नेपाल उच्च प्रदर्शन हो।

प्रतिक्रिया