विवेकशील साझा पार्टीले संस्थापक संयोजक उज्वल थापाको निधनप्रति दु:ख व्यक्त गरेको छ।
एक विज्ञप्ति जारी गर्दै थापाको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको बताएको छ।
दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज ४:२५ बजे निधन भएको थियो।
पार्टीले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा पार्टी सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न आग्रह गरेको छ।
साथै विवेकशीलले 'उज्वल थापाको जीवन र विचार' विषयमा छलफल र बहस चलाउने छ।
नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ।
'थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने छ। यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ,' रवीन्द्र मिश्र र मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया