जंगलको नजिकै शान्त, पारिवारिक वातावरण, आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वास्थ्यवद्र्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको ललितपुरको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ।
अभिभावकसँग कुनै समन्वय नै नगरी महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यो विद्यालय व्यवस्थापन पक्षले अचानक बन्द गर्ने निर्णय गरेपछि यहाँ पढ्ने विद्यार्थी र अभिभावक निकै चिन्तामा परेका छन्। स्कूलका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार मध्यराति अभिभावकहरुलाई इमेल पठाएर आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी पठाएकी हुन्। विद्यालयबाट यस्तो जानकारी आएपछि रातभरि सुत्न नसकेको अभिभावक बताउँछन्।
अभिभावक रुपेश महर्जन अभिभावकहरुसँग कुनै समन्वय नै नगरी अचानक राति १२ बजे इमेल आएपछि रातभरि बच्चा र आफू चिन्तामा परेको बताउछन्। उनले भने, ‘बिहीबार साँझ केही अभिभावकसँग भर्चुअल बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय सुनाइएको रहेछ। विद्यालय बन्द हुन नदिन सबै अभिभावकले सहयोग गर्ने बताउँदा पनि व्यवस्थापन पक्षले मानेन,’ उनले भने, ‘मध्यराति सबै अभिभावकलाई विद्यालय बन्दको निर्णय पठाइएको छ।’
यो निर्णयले कक्षा ८ र ९ मा पढ्दै आएका आफ्ना बच्चा मात्रै नभई शुभतारा स्कूलमा पढ्ने सबै विद्यार्थी र अभिभावक चिन्तामा परेको उनको भनाई छ। कोभिडको मारमा सबै विद्यालय परेको र सबैले नोक्सान बेहोर्दा पनि अरु विद्यालय बन्द नहुने तर शुभतारा बन्द गर्नु कोभिडको बहाना मात्रै भएको आरोप उनको छ।।
कक्षा १ देखि १० सम्म पढाइ हुँदै आएको यो विद्यालयले आर्थिक सङ्कटको बहाना बनाउँदै बन्द गर्ने निर्णय गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अभिभावकको गुनासो छ । विद्यालयका संस्थापक निर्देशक कक्षपतिले राति पठाएको इमेलमा विद्यालयमा अध्ययनरत ३६५ विद्यार्थी र ११९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकले शुल्क नतिरेको, शुल्कको भार विद्यालयमा धेरै हुँदा दुई करोड घाटा लागेकाले आगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्ने जानकारी गराइएको छ।
कलङ्की रविभवन निवासी अर्का अभिभावक सोफिया श्रेष्ठले अभिभावकको भावनाविपरीत विद्यालयले गलत निर्णय लिएको बताए। ‘अधिकांश अभिभावकले शुल्क तिरेका छन्, केहीको बाँकी रहेको एक÷दुई महिनाको शुल्क पनि लकडाउनपछि तिर्ने भनेकै थियौँ, आर्थिक सङ्कट परे थप सहयोग गर्न तयार छौँ भनेर सबै अभिभावकले भन्दा पनि विद्यालय बन्द गर्ने एकल निर्णय गरियो,’ उनले भने।
हालसम्म २० वटा एसइई ब्याच सफलतापूर्वक पास भएको शुभताराका विद्यार्थी भने ललितपुरमै रहेको न्यू मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको भन्दै अभिभावकहरुलाई आफ्ना छोराछोरी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको छ । विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजासमेत वितरण गरिएको छ।
विद्यालय बन्दको निर्णयप्रति रुष्ट हुँदै अभिभावक शिवशङ्कर मानन्धरले भने, ‘शुभतारा अर्को विद्यालयसँग ‘मर्ज’ गर्ने भनिए पनि विद्यार्थी बिक्री गर्ने प्रयास भएको छ, ‘मर्ज’ भनेको दुई विद्यालय गाभिनु हो तर यहाँ त एउटा बन्द गरेर विद्यार्थी अर्कोमा पठाउने भनिएको छ, त्यो सरासर विद्यार्थी बिक्री गर्ने प्रयास हो, विद्यालय चलोस् हामी थप सहयोग गर्न तयार छौँ।’
अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले भने कोरोनाको महामारीको बेलामा अभिभावकको भावनाविपरीत विद्यालय बन्द गर्ने निर्णय गर्नु विद्यार्थी र अभिभावकमाथि घात भएको बताए।
विद्यालय बन्द हुन नदिन अभिभावकको दबाब आएको बताउँदै उनले अभिभावक सङ्घकै नेतृत्वमा विद्यालय सञ्चालनका लागि जेठ २० गते व्यवस्थापन र अभिभावकसँग छलफल गराउने प्रयास भइरहेको जानकारी दिए। विद्यालयमा अभिभावकको पनि लगानी रहन्छ भन्दै अध्यक्ष पुरीले विद्यालयको भौतिक संरचना बिक्रीका लागि विद्यालय बन्द गर्न खोजेको आशङ्का व्यक्त गरे।
महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले भने नगरपालिकाको विद्यालय सञ्चालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति रहेको बताउँदै नगरपालिकालाई जानकारी नै नगराई बन्द गरिए निषेधाज्ञा खुलेपछि छानबिन गरिने बताए। रासस

प्रतिक्रिया