समाज


चारवटा हिउँचितुवामा रेडियो कलार जडान

चारवटा हिउँचितुवामा रेडियो कलार जडान

नेपालखबर
जेठ १७, २०७८ सोमबार ५:२६,

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ।

अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार जडान गरिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको प्राविधिक एवं आर्थिक सहयोगमा २०७६÷७७ मा दुई र यही जेठ २ गते दुईवटा हिउँचितुवामा स्याटेलाइट जिपिएस कलार जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए।

साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलार जडान गरिएको निकुञ्जले जनाएको छ । साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ केजी तौलको अन्दाजी सात वर्षको वयस्क भाले हिउँचितुवाको घाँटीमा जिपिएस कलार जडान गरिएको छ । उक्त हिउँचितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ । त्यस्तै जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ केजी तौल भएको अन्दाजी छ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरेको छ । सो हिउँचितुवाको नाम लाङ्गेन दिइएको छ।

स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मङ्गोलियामा हिउँचितुवामा कलरिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्र्याप अनुगमन प्रविधि पहिलो पटक प्रयोग गरिएको छ । स्याटेलाइट कलार जडान गरिएका हिउँचितुवाको आनुवांशिक अध्ययन गर्न एवं डिएनए प्रोफाइल तयार गर्न रगतको नमूनासमेत लिइएको छ।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँचितुवाको विचरणको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । हालसम्मका तथ्याङ्कलाई हेर्दा दुवै हिउँचितुवाले सामान्यरूपमा आ–आफ्नो बासस्थानमा तीन हजार ६९ मिटरदेखि चार हजार ९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्जले जानकारी दिएको छ।

घाङ्ग्री घापी हिउलले सात दिनमा २४ किमी दूरी पार गरेको छ भने लाङ्गेनले एक दिनमा दुई किमी दूरी पार गरेको छ । यी हिउँचितुवा एक अर्काबाट छ किलोमिटरको दूरीमा विचरण गरिरहेको बताइएको छ।

उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहारलगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्याङ्क दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ । हिउँचितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो।

हिउँचितुवामा स्याटेलाइट कलार जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले नेपालबाट हिउँचितुवाहरु चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

हिउँचितुवा–मानव द्वन्द्व न्युनीकरण, बासस्थान व्यवस्थान, अन्तरदेशीय सहकार्यलगायतका बारेमा समेत अध्ययन हुने छ। हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणका लागि मुख्य सवालहरु पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्ज प्रशासनले जनाएको छ।

स्याटेलाइट कलार जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्गेनबाट प्राप्त ‘जिपिएस लोकेशन’का आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अनुगमन गरिएको छ।

यसअघि गत वर्ष स्याटेलाइट कलर जोडिएका दुईवटा हिउँचितुवा (सामलिङ र जेबोरोङ) मरिसकेका छन् । कलार जडान गरेको छ महिनासम्म मात्र सम्पर्कमा रहेका सामलिङ र जेबोरोङ पछि एकाएक सम्पर्कबाहिर रहेका थिए । सम्पर्कविहीन भएका ती दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad