दोश्रो भेरियन्टको कोरोना माहामारी तीव्र बनेको प्रदेश २ मा पछिल्लो समय संक्रमण दर क्रमशः घट्न थालेको छ।
एकसाता अघि दैनिक ५ सयभन्दा बढी संक्रमित हुने गरेको प्रदेश २ मा हाल उक्त संख्या दुई तीन सयमा झरेको पछिल्लो तथ्यांकले देखाएको छ।
जेठ ९ गते प्रदेश २ को स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको संक्रमित संख्याको तुलनामा जेठ १५ गतेको संख्या आधाभन्दा कम हो।
जेठ ९ गते प्रदेश २ मा ५३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर जेठ १५ गते २२६ जनामा मात्रै कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका बरिष्ट चिकित्सक डा.कमलेशप्रसाद यादवले जानकारी दिए।
यस्तै पछिल्लो ३ दिनयता संक्रमित भेटिने भन्दा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको छ। शनिबार २२६ जनामा संक्रमण पुष्टि हुँदा ३३२ जना कोरोना मुक्त भएका यादवले जानकारी दिए।
निर्देशनालयका अनुसार प्रदेश २ मा अहिलेसम्म ३२ हजार १३१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २० हजार ८२५ जना कोरोना मुक्त भइसकेका छन्।
यस्तै पहिलो र दोश्रो चरणमा गरी प्रदेश २ मा कोरोना संक्रमणबाबट मृत्यु हुनेको संख्या ६४९ पुगेको छ। तर केही जिल्लाबाट मृतकको पछिल्लो विवरण नआएकाले मृतकको संख्या बढ्न सक्ने यादवले बताए।
अहिले प्रदेश- २ मा १० हजार ६५७ जना सक्रिय संक्रमित रहेका डा.यादवले नेपालखबरलाई जानकारी दिए। जसमध्ये विभिन्न अस्पतालमा ६१० जना र होमआइसोलेसनमा १० हजार ४७ जना छन्।
यस्तो छ एक साताको तथ्यांक
जेठ ९ गते : संक्रमित ५३७, मुक्त ३७ जना ।
जेठ १० गते : संक्रमित २८९, मुक्त ५५ जना
जेठ ११ गते : संक्रमित ४८१, मुक्त २५ जना ।
जेठ १२ गते : संक्रमित ३४४, मुक्त १६ जना ।
जेठ १३ गते : संक्रमित ३५३, मुक्त ८६७ जना ।
जेठ १४ गते : संक्रमित ३२९, मुक्त हुने ३६५ जना ।
जेठ १५ गते : संक्रमित २२६, मुक्त हुने ३३२ जना ।

प्रतिक्रिया