समाज


‘ब्लड बैंक’ स्थापना गर्न महिला सक्रिय

‘ब्लड बैंक’ स्थापना गर्न महिला सक्रिय

नेपालखबर
भदौ २, २०७६ सोमबार १५:२८,

सङ्खुवासभामा ‘ब्लड बैंक’ स्थापना गर्न सिर्जनशील सामुदायिक विकास केन्द्रले रकम सङ्कलन अभियान शुरु गरेको छ। गत मङ्सिर २ गते मनकामना धाममा लागेको एकादशी मेलाबाट महिला समूहले अर्थ सङ्कलन थालेका हुन्।

मेलामा केन्द्रले चिया बिक्री गरी रु साढे २९ हजार सङ्कलन गरेको थियो। अभियानले यतिन्जेल करिब रु १० लाख सङ्कलन गरेको केन्द्रका सचिव बबिता कटुवालले जानकारी दिए। रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ। नेपाल रेडक्रस सोसाइटीले २०५३ सालमा आकस्मिक रक्तसञ्चार सेवा स्थापना गरे पनि यसले रगतको ग्रुप छुट्याउने र रक्तदाता खोज्ने काम मात्र गरिरहेको छ।

सिकिस्त र जटिल प्रकृतिका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भए पनि रगत चाहिए नपाइने भएकाले अन्यत्र लैजानुपर्ने हुँदा केन्द्र ब्लड बैंक स्थापनामा जुटेको सचिव कटुवालले बताए। गर्भवतीका लागि तत्काल रगत नपाइँदा ज्यान जाने जोखिम हुने उनको भनाइ छ। उनका अनुसार सबै महिला सक्रिय भएर ब्लड बैंक स्थापना अभियानमा अघि बढेका छन्। रगतकै कारण जिल्ला अस्पतालबाट बिरामी चलान गर्नुपर्ने अवस्था रहेको कटुवालले बताए।

संस्थाले सामाजिक सञ्जालमार्फत पनि सहयोगका लागि अपिल गरेको छ। शल्यक्रिया गरिएका गर्भवती, दुर्घटनामा सिकिस्त घाइते, रक्तअल्पत्ता लगायतका बिरामी रगत अभावमा जोखिममा छन्। जिल्ला अस्पतालमा बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले उपचारमा समस्या हुने गरेको छ। कतिपयको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने भएकाले ब्लड बैंक स्थापनामा लागिपरेका रेडक्रस सोसाइटी शाखाका सभापति सरोजकुमार बज्राचार्यले बताए।

रेडक्रसले रक्तसञ्चार सेवा स्थापना गरी चौबिसै घण्टा एक जना ल्याब असिस्टेन्ट राखी आकस्मिक सेवा दिइरहेको छ। जिल्ला अस्पतालमा अहिले सुरक्षाकर्मीले रगत दिने गरेका छन्। सिकिस्त बिरामी आउनासाथ रगत चाहिए सदरमुकाममा रहेको बराहदल गुल्मका सेना र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको सहयोग लिनुपर्ने बाध्यता छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .