ad ad

समाज


केन्द्रीय अस्पताल सञ्चालनको खाका कोर्दै डा. जागेश्वर, यसरी गर्दैछन् काम

केन्द्रीय अस्पताल सञ्चालनको खाका कोर्दै डा. जागेश्वर, यसरी गर्दैछन् काम

यज्ञराज जोशी
जेठ १३, २०७८ बिहिबार ११:५८,

बिहीबार दिउँसो प्रा.डा.जागेश्वर गौतम वीर अस्पतालमा कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल सञ्चालनको खाका कोर्न व्यस्त थिए।

सरकारले अघिल्लो साता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा गौतमलाई नियुक्त गरिएको छ। त्यसअघि उनी मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा थिए।

गौतम सोमबारदेखि वीर अस्पतालमा हाजिर भएका हुन्। उनले एकीकृत अस्पतालको काम भने बिहीबारबाट सुरु गरे।

‘अध्यादेशले बाटो खोलिदिएको छ। अध्यादेश आधारमात्रै हो। काम आफैँले गर्नुपर्ने हो,’ गौतमले नेपालखबरसँग भने, ‘हाम्रो लागि यो नयाँ अवधारणा हो। चुनौती धेरै छन्। जनशक्ति, स्रोतसाधनको व्यवस्थापन कसरी गर्ने अहिले म त्यसैैको होमवर्क गर्दैछु।’

कोभिड–१९ अस्पतालको लागि आवश्यक जनशक्ति, स्वास्थ्य सामग्री, उपकरण, शय्या लगायतका पूर्वाधारको आकलन गरी आवश्यक व्यवस्था गर्न कोभिड–१९ अस्पताललाई निर्देशन दिने र सोको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने कार्य समेत गौतमको काँधमा आएको छ।

यसका लागि ठूलो जनशक्ति तथा स्रोत–साधन आवश्यक पर्नेछ। नवनियुक्त प्रमुख प्रशासकीय अधिकारी गौतमले सबैको सहसहयोगमा यो सम्भव नहुने बताए।

‘भर्खर आएको छु। मन्त्रालयले पनि कति मान्छे, कति स्रोत साधन चाहिन्छ भनेर सोधिरहेको छ। अहिले म त्यसैमा काम गरिरहेको छु,’ गौतमले भने, ‘मन्त्रालयका साथीभाइदेखि लिएर वीर अस्पतालका कर्मचारी सबैले सहयोग गर्नुपर्छ। गरिरहनुभएको पनि छ। सबैले सरसहयोग नगरी कसरी काम गर्न सकिन्छ?’

अध्यादेशअनुसार केन्द्रीय अस्पताले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा, कोभिड–१९ प्रयोगशाला परीक्षण तथा रेडियो इमेजिङ, संक्रमितको उपचार व्यवस्थापनमा मुख्य जिम्मेवारी पुरा गर्नेछ।

केन्द्रीय अस्पतालले सम्बन्धित प्रदेश सरकारसँग आवश्यक समन्वय गरी प्रदेशस्थित संघीय वा प्रादेशिक अस्पताललाई कोभिड–१९ एकीकृत प्रादेशिक अस्पताल तोकी सञ्चालन गर्नेछ।

सङ्क्रमितको दैनिक तथ्याङ्कका आधारमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बिरामीको आकलन गरी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न लगाउने, शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने र आवश्यकता अनुसार निर्देशन दिने काम पनि अस्पतालले गर्नेछ।

त्यसबाहेक कोभिड–१९ अस्पतालको अनुगमन गरी सोको आधारमा आवश्यक पृष्ठपोषण र सबलीकरण गर्ने, जुनसुकै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रूपमा सञ्चालन गर्न आदेश दिने, मन्त्रालयसँग समन्वय गरी आवश्यक भौतिक पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, उपकरण, अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन तथा परिचालन गर्ने तथा उपचार व्यवस्थापन सम्बन्धी सूचना एकीकृत रूपमा सङ्कलन गरी सोको विश्लेषणका आधारमा आवश्यक व्यवस्था गर्ने वा कोभिड–१९ अस्पताललाई निर्देशन दिने जिम्मेवारी केन्द्रीय अस्पताललाई दिइएको छ।

कोभिड–१९ अस्पतालमा उपचार गर्ने, बिरामीको विद्युतीय अभिलेख राख्ने र राख्न लगाउने, केन्द्रीय अस्पताललाई आवश्यक पर्ने औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि आवश्यक पर्ने उपचार सम्बन्धी प्रोटोकल जारी गर्ने जिम्मेवारी समेत केन्द्रीय अस्पताललाई दिएको छ।

यस्तै टेलिमेडिसिन, कल सेन्टर, होम आइसोलेसनको फलोअप गर्ने, एम्बुलेन्स तथा केन्द्रीय प्रेषण सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा सञ्चालन गर्ने जिम्मेवारी पनि केन्द्रीय अस्पताललाई छ।

गौतमले उक्त कार्य अहिले मन्त्रालयबाटै हुने र केहीदिनमा वीरमा सूचनाप्रविधिको जडान भइसकेपछि अस्पतालबाट सञ्चालन गरिने बताए।

पहिलो प्राथमिकता वीर अस्पतालको नयाँ भवन सञ्चालन
वीर अस्पताललाई कोभिड एकीकृत केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय वैशाख २५ गते नै मन्त्रिपरिषद्ले गरेको थियो। अध्यादेशले सञ्चालनको बाटो खोलिदिएको हो।

सुरुमा वीरको नयाँ सर्जिकल भवनलाई सञ्चालन गर्ने गौतमको योजना छ। अस्पताल पूर्ण क्षमतामा प्रयोग गर्ने हो भने ५०० बेड सञ्चालनमा ल्याउन सकिन्छ। २ सय बेड तयार पनि छन् तर अक्सिजनको अभाव देखाउँदै ती बेडहरु प्रयोगविहीन छन्।

‘छिटोभन्दा छिटो वीर अस्पतालको सर्जिकल बिल्डिङ तयार पार्नु पर्नेछ। त्यसलाई प्राथमिकतामा राखेर कार्यसञ्चालन हुँदैछ,’ गौतमले भने, ‘अक्सिजन व्यवस्थापनमा काम गर्दैछौँ। प्लान्ट, ट्यांक जडानमा लागिरहेका छौँ।’

उनले सर्जिकल भवन सञ्चालन भएपछि अस्पतालमा बेड नपाउने सम्भावना धेरै हदसम्म कम हुने बताए।

कहिलेदेखि सुरु हुन्छ र कति क्षमताको हुन्छ? यसको जवाफ भने उनीसँग छैन।

‘गर्दै जाने हो। कोसिस गर्दैछौँ। हेरौ, कुन दिन सकिन्छ,’ गौतमले भने, ‘सञ्चालन गर्नपर्ने त धेरै छ। स्रोतसाधनको व्यवस्थापन अनुरुप बल्ल भन्न सक्छु।’

विज्ञहरुले तेस्रो लहर पनि आउने चेतावनी दिइरहेका छन्। एकीकृत अस्पतालले तेस्रो लहर सामना गर्न सहज बनाउने बताए।

‘यो सिकाइ हो। दुई वर्षअघि कोभिड छँदै थिएन। अहिले कोभिड आयो, आवश्यकता अनुसार काम कारबाही, स्रोतसाधन जुटाउँदै गएका छौं,’ उनले भने, ‘तेस्रो लहर आयो भनेपनि हामी त्यसका लागि तयार हुँदैछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .