समाज


भारतमा ब्ल्याक फंगसबाट झन्डै ९ हजार पीडित, यो रोग कोरोना संक्रमितको लागि खतरनाक

भारतमा ब्ल्याक फंगसबाट झन्डै ९ हजार पीडित, यो रोग कोरोना संक्रमितको लागि खतरनाक

नेपालखबर
जेठ १०, २०७८ सोमबार ८:५१,

लगातार २५ दिन ३ लाखभन्दा बढी संक्रमित थपिरहेको भारतमा अहिले ३ लाखभन्दा मुनी संक्रमित थपिरहेका छन्।

यतिबेला कोरोनाको खतरा नटरेकै अवस्थामा भारतमा ब्ल्याक फंगस ‘कालो ढुसी’ रोगले जटिल अवस्था निम्त्याएको छ।

भारतमा हालसम्म ज्यानै लिनसक्ने र आँखाको ज्योति खोस्नसक्ने यस ब्ल्याक फंगसबाट झन्डै ९ हजार पीडित रहेको बीबीसीहिन्दीले जनाएको छ।

८ हजार ८०० भन्दा बढीमा यो रोग भएको बताइएको छ। ब्ल्याक फंगसको संक्रमणलाई ‘म्युकरमायकोसिस’ भनिन्छ। यस रोग लागेपछि मृत्यु हुने र बाँच्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ।

विज्ञहरुका अनुसार ब्ल्याक फंगस जटिल बने मानिसको ज्यान जोगाउन आँखा नै झिक्नुपर्ने हुन्छ।

भारतमा यतिबेला कोरोनामुक्त भएका मासिनमा यो रोग देखा परेको छ। डाक्टरहरुका अनुसार कोरोनामुक्त भएको १२ देखि १८ दिनभित्र मानिसमा कालो ढुसीको समस्या देखिएको छ।

ब्लैक फ़ंगस(तस्बिर: एएफपी)

भारतभर देखिएका त्यस्ता बिरामीमध्ये आधा गुजरातमा रहेको बताइएको छ। गुजरात अलवा भारतका अन्य १५ राज्यमा पनि सयौं ब्ल्याक फंगस रोगी भेटिएका छन्।

यो रोग धेरै मानिसमा देखिन थालेपछि भारतका २९ राज्यले यसलाई महामारी घोषणा गर्न केन्द्र सरकारसँग आग्रह गरेका छन्।

मध्यप्रदेशको महाराजा यशवंतराव अस्पतालका औषधि विभाग प्रमुख वीपी पान्डेयका अनुसार ब्ल्याक फंगस भएका बिरामीमध्ये ८० प्रतिशतलाई तुरुन्तै सर्जरीको खाँचो हुन्छ।

उनी भन्छन्,‘ब्ल्याक फंगस संक्रमण अब कोरोनाको तुलनामा अधिक चुनौतीपूर्ण बनेको छ। यदी समयमै उपचार भएन भने यसबाट ९४ प्रतिशत मृत्युदर निम्तनसक्छ। यस बिमारीको उपचार महँगो छ र यसको औषधिको आपूर्ति पनि पर्याप्त छैन।’

म्युकरमायकोसिस के हो? यसबाट कसरी बच्ने

म्युकरमायकोसिस एकदमै दुर्लभ संक्रमण हो। यो कालो ढुसी म्युकस फंगसका कारण हुने गर्दछ।

यस्ता फंगस माटो, बोटबिरुवा, मल, सडेको फल र तरकारीहरूमा भेटिन्छ। यसबाट बच्न पहिलो त मानिसले सरसफाईमा ध्यान दिनुपर्छ।

तर पछिल्लोपटक कोरोनामुक्त भएका मानिसमा यस्तो कालो ढुसी देखिनुको कारण अत्यधिक एस्टेरोइडजस्ता औषधिको प्रयोग भएको विज्ञहरु बताउँछन्।

यो रोग कमजोर इम्युनिटी भएका मानिस जस्तै क्यान्सर, एचआइभी, मधुमेहका रोगीको लागि झनै खतरनाक भएको बताइन्छ।

यसले मानिसको नाक नजिकैको साइनस, फोक्सो र मस्तिष्कमा असर गर्दछ।

संक्रमण

नाक बन्द हुनु, नाकबाट खुन र कालो पदार्थ बग्नु साथै आँखा सुन्निने र पोल्ने हुनु, नाक वरपर कालो धब्बा बस्नु, आँखाले धमिलो देखिनु यस रोगका लक्षण हुन्।

यी लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ। उपचारमा ढिला भएमा आँखाको ज्याति जानसक्छ भने बिरामी बचाउन आँखा नै निकाल्नुपर्ने हुन्छ।

यो रोगका लागि एन्टी फंगल इन्जेक्सन ‘एम्फोटेरिसिन बी’ को आवश्यकता हुन्छ। आठ हप्तासम्म यो इन्जेक्सन लगाउनुपर्छ।

यसको मूल्य ३५ सय भारु रहेको छ। यस रोगबाट बच्न स्टेरोइड औषधिको प्रयोगमा कमी ल्याउनुपर्ने, शरीरमा पानीमा मात्रा कम हुन दिन नहुने र डायबिटिज रोगलाई नियन्त्रणमा ल्याउनुपर्ने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad