दार्चुलाको अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे यार्सा संकलनका क्रममा वेपत्ता भएका प्रहरीले जनाएको छ।
यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका स्थानीयको भनाई छ।
हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ। ‘आफन्तले खोजी गर्दा पनि अहिलेसम्म छाता मात्रै भेटिएको छ’, अपिहिमाल–४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भने, ‘गाउँले गएर खोजी गरे पनि अझै ठेकर भेटिएका छैनन्।’
घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको उनले बताए।
अहिले दार्चुलामा यार्सागुम्बा सङ्कलनका लागि अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा पुगेका छन्। यहाँ यार्सा संकलनको लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अनुमति दिनुपर्छ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलनका लागि अनुमति नदिन आग्रह गर्दै आएको छ।
सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो। तर अहिले दार्चुलाको व्यास तथा अपिहिमाल गाउँपालिका क्षेत्रका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु भरिँन थालेका छन्। रासस

प्रतिक्रिया