समाज


कोभिडका बिरामी र कुरुवालाई २० रुपैयाँमै पेटभरी खाना

कोभिडका बिरामी र कुरुवालाई २० रुपैयाँमै पेटभरी खाना

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार २:५८,

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ।

अस्पताल परिसरमै प्रतिछाक २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको हो।

बिहानको छाकमात्रै २० मा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाले मासिक रु ५० हजार सहयोग गर्न थालेपछि रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर २० रुपैयाँमा बिहानको खाना खुवाउन शुरु गरेको थियोे।

पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ।

उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो।

कोभिड–१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन्। अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक ४०० जनालाई खाना खुवाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ।

खानामा दाल, भात, तरकारी दिने गरिएको छ । बिरामीका लागि बोतलको पानी उपलब्ध गराउने गरिएको छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक जितेन्द्रबहादुर
सिंहले बताए।

अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवालाई रु २० मा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले बताए।

अभियानमा उपमहानगरपालिकासहित विभिन्न मनकारी सङ्घसंस्था र व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मित्र मण्डलका प्रवक्ता विमल चन्दले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad