राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय आज (शुक्रबार) अपराह्न ५ बजे सकिँदैछ।
बिहीबार साँझ विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी हुन्।
प्रधानमन्त्री ओलीले राजीनामा नगर्दै र संसदमा विश्वासको मत नलिँदै एकैचोटि धारा ७६ (५) मा प्रवेश गर्नु संविधानविपरीत भएको भन्दै कानुनविद्ले आपत्ति जनाइरहेका छन्। यो फेरि प्रतिनिधि सभा विघटन गर्ने षडयन्त्र भएको उनीहरूको आरोप छ।
आज अपराह्न ५ बजेसम्म नयाँ सरकार बन्न सकेन भने के हुन्छ?
गत वैशाख २७ गते प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएपछि पहिलो विकल्प संविधानको धारा ७६ (२) अनुसार विपक्षी दलले बहुमतको सरकार गठन गर्न सकेनन्।
त्यसपछि दोस्रो विकल्प धारा ७६ कै उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको संसदीय दल (एमाले) को नेताको हैसियतमा ओली नै पुनः प्रधानमन्त्री भए।
त्यस दिनदेखि गनेर ३० दिनभित्र फेरि प्रतिनिधि सभामा उनले विश्वासको मत लिनुपर्ने थियो। नलिने हो भने उनले राजीनामा गर्नुपर्थ्यो। तर यी दुवै नगरी एकैचोटि २४ घण्टासमेत समय नदिई राष्ट्रपतिले हतारहतार विज्ञप्ति जारी गरी दलहरूलाई नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएकी छन्।
यो पनि : राष्ट्रपतिले २४ घण्टा पनि समय नदिएकोमा नेता पौडेलको आपत्ति
यो समयभित्र दलहरूले नयाँ सरकार दिन सकेनन् भने ओलीले संसद् विघटनको सिफारिस गर्न सक्ने सम्भावना छ। किनकि नयाँ प्रधानमन्त्री बन्न नसकेका खण्डमा पहिलेकै प्रधानमन्त्रीले संसद् विघटन गराई चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ।
यही कारण सकेसम्म विपक्षीले बहुमत जुटाउन नसकून् र नयाँ सरकार बनाउन असफल होउन् भन्ने मनसायले आपसी छलफल गर्नसमेत नभ्याउने गरी राष्ट्रपतिले जम्मा २१ घण्टाको समय दिएको आशंका संविधानविददेखि दलहरूसम्मले गरेका हुन्।
अब दलहरूले कि अपराह्न ५ बजेसम्म नयाँ सरकार बनाउन सक्नुपर्छ कि ओली र राष्ट्रपतिले चालेको कदमै असंवैधानिक ठहर गर्दै अस्वीकार गर्न सक्नुपर्छ।

प्रतिक्रिया