अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा भक्तबहादुर केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार दुबैजना अधिकृत विरुद्ध प्रतिब्यक्ति एक लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो।
जनस्वास्थ्य अधिकृत गुप्ताले सेवाग्राहीसँग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकुबाट कोटेशन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसार गर्न दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत एक लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्तबहादुर केसीले आफू शाखा प्रमुख भएको हैसियतमा आफ्नो शाखाबाट भएको कामको आफ्नै प्रत्यक्ष मातहतमा रहेको कर्मचारीले घुस माग गरेको जानकारी हुँदाहुँदै सो कार्य रोक्नुपर्नेमा सेवाग्राहीसँग आफैंले रकम माग गरेको पाइएको दुबै जना मिलेर घुसबापतको रकम बाँडिचुँडी खाने योजना बनाएको अख्तियारले जनाएको छ।
जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र डा भक्त बहादुर केसीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) बमोजिमको कसुर भएको हुँदा निजहरूलाई जनही बिगो रू एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो।

प्रतिक्रिया