समाज


सुधारिँदै कक्षा १२ को नतिजा

नियमिततर्फ गत वर्षभन्दा ९ प्रतिशत बढी उत्तीर्ण, अंग्रेजी र लेखामा धेरै ‘ननग्रेड’
सुधारिँदै कक्षा १२ को नतिजा

प्रज्ञा तिम्सिना
असार ५, २०८३ शुक्रबार २०:४, काठमाडौँ

विद्यालय तहको अन्तिम परीक्षा (कक्षा १२) को नतिजा सुधार हुँदै गएको छ। गत वर्षको तुलनामा यो वर्ष ३ अंकले बढेको छ। गत वर्ष ६१.१७ प्रतिशत उत्तीर्ण भएका थिए। 

यस वर्ष नियमित र आंशिक गरी ६४.१३ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन्। यो नतिजा पाँच वर्षयताकै राम्रो हो। २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी मात्र उत्र्तीण भएका थिए। 

यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ गत वर्षको तुलनामा ९ प्रतिशत बढी विद्यार्थी उत्र्तीण भएका हुन्। गत वर्ष नियमिततर्फ ६१.१९ प्रतिशत विद्यार्थी उत्र्तीण भएका थिए। 

यस वर्ष आंशिकतर्फ पनि सुधार भएको छ। आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा सिकाई प्रणालीमा सुधार आएकाले नजिता सुधारोन्मुख देखिएको बताउँछन्। ‘कक्षा कोठाको सिकाईमा सुधारका साथै उत्तरपुस्तिका परीक्षण गर्न शिक्षकलाई तालिम दिएका कारण नजिता सुधार हुँदै गएको हो,’ शर्मा भन्छन्, ‘शिक्षक, विद्यार्थीको मेहनतको फल देखिएको छ।’ 

उत्तरपुस्तिका परीक्षणमा वैज्ञानिक विधि प्रयोग गरिएको उनी बताउँछन्। ‘कस्तो उत्तर लेख्दा कति नम्बर दिने, उत्तरपुस्तिका कसरी परीक्षण गर्ने भनेर हामीले शिक्षकलाई तालिम दिएका छौँ। साथै विद्यार्थीको सिकाई स्तर कसरी सुधार गर्ने भनेर शिक्षकलाई तालिक दिइएका थियौँ,’ उनी थप्छन्, ‘त्यसको नजिता देखिन थालेको हो।’

परीक्षा नियन्त्रक शर्माका अनुसार, झण्डै ७० हजार विद्यार्थी दुई विषयमा फेल भएका छन्। उनीहरूले मौका परीक्षा दिन पाउने भएकाले उत्तीर्ण प्रतिशत अझ बढ्ने उनको आकलन छ। 

अंग्रेजीमा सबैभन्दा धेरै ‘ननग्रेड’
नजिता सुधार हुँदै गए पनि विषयगत रुपमा ‘ननग्रेड’ हुने विद्यार्थीको संख्या भने घट्न सकेको छैन। परीक्षामा सामेल भएका नियमित र आंशिकतर्फ गरी चार लाख १८ हजार १७० विद्यार्थीमध्ये सबैभन्दा बढी अंग्रेजी विषयमा ‘ननग्रेड’मा परेका छन्। 

अंग्रेजी विषयमा ‘ननग्रेड’मा पर्ने विद्यार्थीको संख्या ३८ हजार ७९३ रहेको छ। अर्थात यी विद्यार्थीले अनिवार्य अंग्रेजी विषयमा ३५ भन्दा कम नम्बर ल्याएका छन्। 

व्यवस्थापन संकायअन्र्तगतको लेखा विषयमा २९ हजार ७७७ विद्यार्थीको ‘ननग्रेड’ आएको छ। अर्थशास्त्र विषयमा १२ हजार २८८ विद्यार्थीको ‘ननग्रेड’मा परेका छन् भने बिजनेस स्टडीमा पाँच हजार ९९७ विद्यार्थीले ‘ननग्रेड’ पाएका छन्। 

त्यस्तै, अनिवार्य नेपालीमा १४ हजार ८१४ विद्यार्थीको ‘ननग्रेड’ रहेको छ। नेपाली विषयमा सबैभन्दा धेरै ७२ हजार ७८८ विद्यार्थीको ‘डी’ ग्रेड आएको छ। 

सामाजिक विषयको नजिता भने दुई वर्षयताकै सुधार आएको छ। यस वर्ष सामाजिकमा १३ हजार ९७१ विद्यार्थीले ‘ननग्रेड’ पाएका छन्। २०८१ सालको परीक्षामा सामाजिक विषयमा ५२ हजार विद्यार्थी ‘ननग्रेड’मा परेका थिए। 

अनिवार्य गणित विषयको नजितामा भने केही सुधार देखिएको छ। गणितमा ६ हजार ५६ जना विद्यार्थी ‘ननग्रेड’ भएका छन्। 

शिक्षा संकायको  पेडालोजी विषयका सात हजार १६५ विद्यार्थी ‘ननग्रेड’ भएका छन्। विज्ञान संकायको रसायन विज्ञान विषयमा चार हजार ९९९ विद्यार्थीको ‘ननग्रेड’ आएको छ। 

बागमतीका सबैभन्दा धेरै उत्तीर्ण

कक्षा १२ को परीक्षामा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ छ। प्रदेशगत रुपमा सबैभन्दा बढी ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी बागमती प्रदेशकै छन्। 

बागमतीमा ११ हजार ५२ विद्यार्थीको ३.६१ देखि ४ जीपीए आएको छ। जबकि, सबैभन्दा कम कर्णाली प्रदेशका २५२ विद्यार्थीले मात्र ३.६१ देखि ४ जीपीए ल्याएका छन्। 

कोशी प्रदेशका दुई हजार ३२६, लुम्बिनी प्रदेशका एक हजार ४९९, गण्डकी प्रदेशका एक हजार २३४, मधेश प्रदेशका एक हजार १८ र सुदूरपश्चिम प्रदेशका ४०५ विद्यार्थीको मात्र ३.६१ देखि ४ जीपीए जीपीए आएको छ। 

त्यस्तै, ३.२१ देखि ३.६ प्रतिशत जीपीए ल्याउने विद्यार्थी ६४ हजार ८२१ छन्। जसमा सबैभन्दा बढी २८ हजार ३५० विद्यार्थी बागमती प्रदेशकै छन्। 

यसैगरी, कोशी प्रदेशका १० हजार १९१, लुम्बिनी प्रदेशका सात हजार ९९४, मधेश प्रदेशका सात हजार ७५९, गण्डकी प्रदेशका चार हजार ३९४, सुदूरपश्चिम प्रदेशका तीन हजार ४८४ र कर्णाली प्रदेशका दुई हजार ६४७ विद्यार्थीले ३.२१ देखि ३.६ प्रतिशत जीपीए ल्याएका छन्। 

यस्तै, २.८१ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ९४ हजार २४९ छन्। प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशका २९ हजार ५५७ विद्यार्थीले २.८१ देखि ३.२ जीपीए ल्याएका छन्। 

कोशी प्रदेशबाट १४ हजार ६१२, लुम्बिनी प्रदेशबाट १४ हजार ४८०, मधेश प्रदेशबाट १४ हजार ७९, सुदूरपश्चिम प्रदेशबाट आठ हजार १२३, गण्डकी प्रदेशबाट सात हजार ७८ र कर्णाली प्रदेशबाट ६ हजार ३२० विद्यार्थीको २.८१ देखि ३.२ जीपीए आएको छ। 

कक्षा १२ को परीक्षामा २.४१ देखि २.८ प्रतिशत जीपीए ल्याउने विद्यार्थीको संख्या पाँच हजार ५९७ मात्रै छ। योे जीपीए ल्याउने विद्यार्थीमा बागमती प्रदेशका ११ हजार ३०१, मधेश प्रदेशका आठ हजार ५५३, कोशी प्रदेशका आठ हजार २७३, लुम्बिनी प्रदेशका आठ हजार ४०५, गण्डकी प्रदेशका चार हजार ७१३, सुदूरपश्चिम प्रदेशका चार हजार ९३९ र कर्णाली प्रदेशका चार हजार ४१३ विद्यार्थी छन्। 

यसैगरी, २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी चार हजार ३०८ जना छन्। यसमा कोशीका ७५४, मधेशका ७५५, बागमतीका ६५५, गण्डकीका ४६४, लुम्बिनीका ७३८, कर्णालीका ४६२ र सुदूरपश्चिम प्रदेशका ४८० विद्यार्थी छन्। 

यस वर्षको परीक्षामा १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी ९ जना मात्रै छन्। 

ननग्रेड बागमतीमै बढी
कक्षा १२ को अन्तिम परीक्षामा एक लाख ४७१ विद्यार्थी ‘ननग्रेड’मा परेका छन्। उनीहरूमध्ये सबैभन्दा बढी बागमती प्रदेशका २२ हजार ५५७ जना छन्। बागमतीपछि कोशी प्रदेशका १७ हजार ४९३ विद्यार्थीको ‘ननग्रेड’ आएको छ। 

यस्तै, मधेश प्रदेशका १७ हजार ४९३, लुम्बिनीका १५ हजार ७१६, सुदूरपश्चिम प्रदेशका नौ हजार ६७६, कर्णाली प्रदेशका आठ हजार ५७६ र गण्डकी प्रदेशका सात हजार ७६६ विद्यार्थीले ‘ननग्रेड’ ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad