समाज


महामारीबीच काम गरिरहेका श्रमजीवीका सम्बन्धमा महासंघले गर्‍याे ८ बुँदे निर्णय

महामारीबीच काम गरिरहेका श्रमजीवीका सम्बन्धमा महासंघले गर्‍याे ८ बुँदे निर्णय

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १२:३६,

नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको महामारीबीच अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारका सम्बन्धमा विभिन्न निर्णय गरेको छ।

जुममार्फत मंगलबार बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकमा कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव र श्रमजीवी पत्रकारका समस्याका विषयमा छलफल भएको थियो।

महासंघका महासचिव रोसन पुरीका अनुसार बैठकले निम्न निर्णय गरेको छः

१) कोरोना संक्रमणसँग जुध्दै सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा अहिले महत्वपूर्ण चुनौती बनेको छ। यो अवस्थामा यी दुई विषयलाई केन्द्रविन्दुमा राखेर आवश्यक कदम चाल्न, त्यसका लागि समुदायस्तरका संघसंस्थासँग सहकार्य गर्न, पारदर्शी रुपमा कोभिड कोष निर्माणको पहल थाल्न र प्रेस पासको दुरुपयोग हुनबाट रोक्न महासंघका सबै प्रदेश समिति, जिल्ला शाखा, एसोसिएट, प्रतिष्ठान शाखा र वैदेशिक शाखालाई आह्वान गर्ने।

२) पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बीमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गराउने।

३) नेपाल सरकारको आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त सञ्चार संस्थाका लागि फरक फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न सरकारसँग माग गर्ने।

४) कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिँदै आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई यो बैठक आग्रह गर्दछ। स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराउँदछ।

५) हाल स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मूल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसँग रकम लिइरहेको भन्ने गुनासो अत्यधिक रुपमा सुनिँदै आएकाले त्यस सम्बन्धमा आवश्यक नियमनका लागि सरकारको ध्यानाकर्षण गर्ने।

६) प्रेस काउन्सिलले पत्रपत्रिकाको मूल्यांकन गर्ने क्रममा हाल कोरोना संकटले पत्रपत्रिकाको प्रकाशनमा पारेको असरलाई ध्यान दिँदै व्यवहारिक ढंगले निर्णय प्रक्रियालाई अगाडि बढाउन काउन्सिललाई आग्रह गर्ने। साथै, लोककल्याणकारी विज्ञापनवापतको रकम निकासा प्रक्रियालाई सहज बनाउन र बिभिन्न बहानामा रोकिएको रकम तत्काल भुक्तानी गर्न सूचना तथा प्रसारण विभागलाई आग्रह गर्ने।

७) कोरोनाका बहानामा कोही पनि संचारकर्मीलाई कामबाट निष्कासन नगर्न, सुविधामा कटौति नगर्न, पत्रकारले पाउनुपर्ने बक्यौता रकम अविलम्ब उपलब्ध गराउन, सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्याहरु तत्काल समाधान गर्न सञ्चार प्रतिष्ठान र सरकारको ध्यानाकर्षण गराउने तथा स्वास्थ्य सजगताका लागि आवश्यक प्रबन्ध मिलाउन सञ्चारसंस्थालाई आग्रह गर्ने।

८) कोरोनाका कारण मृत्यु भएका ९ जना पत्रकारसहित सबै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित पत्रकार तथा सबै नागरिकको संक्रमण मुक्तका लागि कामना गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad