गएको २४ घण्टामा विपदका घटनाबाट एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज देशभर विपदका नौ वटा घटना भएका छन्।
प्राधिकरणका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–५ गैरा बस्ने अन्दाजी ५० वर्षका १ पुरुष घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको छ।
यस्तै, नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गाउँपालिका–१ जोगीकुटी स्थित बिनयी खोलामा ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा वर्षासँगै परेको चट्याङ्ग लागि वर्ष ५६ का १ पुरुषसहित ३ जना सामान्य घाइते भएका छन्।
यता, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ रुमला बस्ने अन्दाजी वर्ष ६५ की १ महिला घरमा बसिरहेको अवस्थामा घर नजिकै परेको चट्याङ्गको झिल्का लागि घाइते भएकी छन्।
यसैगरी ओखलढुंगाको चम्पादेबी गाउँपालिका–९ खानिगाउ बस्ने वर्ष ४० का एक पुरुष पानीसँगै परेको चट्याङ्गले लागि सामान्य घाइते भएका छन्।
प्राधिकरणले सल्यानको छत्रेश्वरी रगाउँपालिका–४ तिरुपाते र शारदा नपा–१२ तिमिलेमा चट्याङबाट क्षति पुर्याएको बताएको छ।
यस्तै, पर्साको ठोरी गाउँपालिका–३ रामनगर बस्ने वर्ष ६२ का एक दम्पतीलाई जंगलमा पात टिप्न जाँदा अचानक जंगली जनावर भालुले आक्रमण गरि घाइते बनाएको छ।
यता, रोल्पाको लुङ्ग्री गाउँपालिका–७ काफलडाँडा स्थित एक गोठ माथिबाट पहिरो आई गोठमा रहेकी वर्ष ५० कि १ महिला सामान्य घाइते भएकी छन्। पहिरोबाट बाख्रा, गाई, कुखुरा पुरिएको थियो।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१० चौविसकोठी स्थित प्राईम कमर्सियल बैंकमा विजुली सर्ट भई आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया