उपत्यकामा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ। काठमाडौं, ललितपुर, भक्तपुर तीनवटै जिल्लाले आन्तरिक छलफलमा जेष्ठ १० वा १२ गतेसम्म निषेधाज्ञा थप्ने गरी छलफल गरेका छन्।
मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
‘अहिलेको निषेधाज्ञालाई १० वा १२ गतेसम्म लम्ब्याउने र कडाइका साथ कार्यन्वयन गर्ने भन्ने छ, भोलि संयुक्त बैठक बसेर निर्णय गर्छौं’, प्रजिअ भट्टराईले भने।
यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको छलफलमा थप कडाई गर्ने सहमती भएको छ। अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने र उपत्यकाबाट बाहिर जान पनि रोक लगाउने निर्णय गर्नु पर्ने कुरा उठेको छ।
‘अस्पताल जाने आउने बाहेकलाई हिँडडुल गर्न नदिने, अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने र उपत्यकाबाट बाहिर जान पनि रोक लगाउने भन्ने कुरा भएको छ,’ छलफलका एक सहभागीले भने।
तीनवटै जिल्लाले आइतबार र सोमबार आन्तरिक रुपमा स्थानीय तह, सुरक्षा निकाय र व्यवसायीका प्रतिनिधिसँग छलफल गरेका छन्। छलफलमा सबै जिल्लामा निषेधाज्ञा लम्ब्याउने सहमती जुटेको हो।
सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको छ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी छ। पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा २९ गते सकिने छ। त्यसअघि नै थप निर्णय गर्ने तयारी भएको हो।
यी विषयमा सरकारसँग अनुमति लिएर मंगलबार निर्णय गर्ने तयारी भएको हो।
Shares

प्रतिक्रिया